काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट देखिएको छ। परिसूचक १४.०५ अंकले घटेर दुई हजार ५०.७८ को बिन्दुमा कायम भएको हो।
आज विभिन्न दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० बराबरको कारोबार भएको छ।
यो दिनको कारोबारमा होटल तथा पर्यटन, जीवन बीमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। होटल तथा पर्यटन समूह दुई सय ३९.५१, जीवन बीमा ११.९६, उत्पादन तथा प्रशोधन १५.०१ र व्यापार समूह २.३६ अंकले बढेको छ।
सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचकमा ५२.०५ अंकको गिरावट देखिएको छ। त्यस्तै बैंकिङ ९.९९, वित्त २८.०४, जलविद्युत् ४१.८७, लगानी १.२०, लघुवित्त ४०.८, म्युचुअल फन्ड ०.१३, निर्जीवन बीमा ०.८३ र अन्य समूह ७.३० अंकले घटेको छ।
सिटी होटल लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै ९.९७ प्रतिशतको वृद्धि देखिएको छ। सबैभन्दा धेरै गुमाउनेमा भने ग्रीन भेञ्चर्स लिमिटेडको शेयर मूल्यमा ६.९८ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २३ करोड छ लाख ४१ हजार तीन सय २७ बराबरको चार लाख २३ हजार एक सय ९८ कित्ता शेयर किनबेच भएको छ।


विश्व खबर 

















