काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन्।
मन्त्रीको कार्यभार सम्हाल्दा उनले शुक्रबार बहुराष्ट्रिय राज्यको कुरा उठाए । उनले बहुल राज्य नभएसम्म अधिकार र पहिचानको निम्ति आन्दोलन जारी रहन्छ भनेका थिए । उनले दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।
शनिबार राति मन्त्री महतोले प्रेस विज्ञप्ति जारी गरेर आफ्नो भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार–प्रसार भएको भनी गुनासो समेत गरेका छन् । महतोले संविधानमा आफूहरूका असंतुष्टी कायमै रहेकाले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि जानकारी दिएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु। यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु ।’
महतोले बहुराष्ट्रिय राज्यको कुरा उठाएपछि विद्यार्थी संगठनले बानेश्वरमा उनको पुत्ला दहन गरे भने नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यहरुले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाए । यस्तै, पूर्वप्रधानमन्त्रीहरुले समेत महतोको अभिव्यक्तिको विरोध गरेका छन् ।


विश्व खबर 




















