images
images
  • आईजीपी बर्खास्तीको साइड इफेक्ट: कांग्रेसले बोलायो शीर्ष नेताको आकस्मिक बैठक

    काठमाडौं– सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्त गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ ।

    बुधबार अपराह्न ४ बजे पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय समितिका पदाधिकारीहरूको आकस्मिक बैठक बस्न लागेको हो ।
    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा कांग्रेसले आधिकारिक धारणा तय गर्ने भएको छ ।

    नेताहरूका अनुसार प्रहरी नियमावलीविपरीत कार्कीलाई पदमुक्त गरेकोमा कांग्रेस असन्तुष्ट छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले बिचौलिया इनम सापकोटाबाट बरामद भएको मोबाइल दुई दिनसम्म आफ्नो घरमा राखेर फरेन्सिक ल्याबमा पठाएको समाचार बाहिरिएपछि सरकारले कार्कीलाई महानिरीक्षकबाट हटाएको हो ।

    बेनको निर्देशनपछि मात्र इनम सापकोटाले प्रहरीलाई दिएको बयान सनसनी ढंगले मिडियामा ल्याइएको थियो । जसमा कांग्रेसको आधिकारिकता पाउन विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले १८ करोडको डिल गरेको भनेर बोलेको सुन्न सकिन्छ । तर इनमले त्यो डिलमा आफू नभएको उल्लेख गरेका छन् ।

    पार्टीलाई बदनाम गर्न सरकारले बिचौलिया प्रयोग गरेको कांग्रेसले आशंका गरेको छ । सो विषय पनि आजको बैठकमा छलफल हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images