images
images
  • आनी छोइङको नियुक्ति गर्दा मापदण्ड मिचिएको खुलासा !

    लुम्बिनी-लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने कानुनी मापदण्ड छ । तर, सरकारले उपाध्यक्षमा नियुक्त गर्दा आनी छोइङ डोल्माको औपचारिक शैक्षिक योग्यताको बेवास्ता गरेको खुलासा भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०८० को दफा ३ (क) ले लुम्बिनी विकास कोषको कार्यकारी प्रमुखका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, उपाध्यक्ष, सदस्यसचिव र कोषाध्यक्षजस्ता पदाधिकारीका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था छ । सम्बन्धित विषयमा बौद्ध दर्शन, पुरातत्व, इतिहास, संस्कृति, प्रशासन तथा व्यवस्थापनलगायत क्षेत्र समेटिएका छन् ।

    तर, आनी छोइङ डोल्माले गुम्बा शिक्षाबाहेक औपचारिक उच्च शिक्षा नलिएको स्रोतको भनाइ छ । आनी स्वयंले पनि सञ्चारमाध्यममा आफूले औपचारिक शिक्षा नलिएको बताउँदै आएकी छिन् । नियुक्तिका क्रममा मन्त्रालयले पनि उनको औपचारिक शिक्षातर्फ ध्यान नदिएको प्राप्त विवरणमा उल्लेख छ । वरिष्ठ अधिवक्ता शैलेन्द्र अम्बेडकरले पनि नियुक्तिमा तोकिएको योग्यताको विषय उठाएका छन् । उनले गुम्बा शिक्षालाई औपचारिक नमानिने बताएका छन् । पदका लागि निर्धारित शैक्षिक योग्यतासम्बन्धी व्यवस्थाको पालना नभएकाले नियुक्ति गैरकानुनी भएको बताएका छन् ।

    गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । उनको नियुक्तिपछि लुम्बिनी बचाउ महाअभियान, राष्ट्रिय जेनजी नागरिक समूह, कपिलवस्तु–तिलौराकोट संघर्ष समितिलगायत संस्थाले विरोध गर्दै आएका छन् । लामा गुरु, बौद्ध भिक्षु–भिक्षुणी तथा नागरिक समाजका प्रतिनिधिले पनि नियुक्तिबारे असन्तुष्टि जनाएका छन् ।मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि रोस्टर सूची तयार गर्ने क्रममा उपाध्यक्ष पदका १०४ जनासहित कुल ७२७ जनाको आवेदन संकलन गरेको थियो । तर, प्रतिस्पर्धात्मक प्रक्रिया पूरा नगरी रोस्टर सूचीबाहिरबाट नियुक्ति गरिएको भन्दै अन्य प्रतिस्पर्धीले असन्तुष्टि जनाएका छन् ।

    लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्न सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने मापदण्ड, आनी छोइङ डोल्माको औपचारिक उच्च शिक्षाबारे प्रश्न उठेपछि नियुक्ति प्रक्रियामाथि विवाद

    नागरिकताको वैधताबारे पनि प्रश्न

    आनीको नियुक्तिलाई लिएर शैक्षिक योग्यतासँगै नागरिकताको वैधतासम्बन्धी विषय पनि उठाइएको छ । उनले सार्वजनिक कार्यक्रममा आफू तिब्बती मूलको भएको बताउँदै आएकी छिन् । उनको आत्मकथा ‘फूलको आँखामा’मा पनि तिब्बतमा राजनीतिक परिवर्तनपछि परिवार नेपाल आएको उल्लेख छ ।

    सरकारी अभिलेखअनुसार उनले २०४६ जेठ १९ गते काठमाडौँको तत्कालीन चपली भद्रकाली गाविस–६, हाल बूढानीलकण्ठ नगरपालिका–२ को स्थायी ठेगाना देखाएर कान्छाबहादुर लामालाई बाबु कायम गरी वंशजका आधारमा नेपाली नागरिकता लिएकी थिइन् । कान्छाबहादुर लामाका छोरा प्रमाणसिंह लामाले २०७६ सालमा आफ्ना बाबुको नाम प्रयोग गरी आनीले गैरकानुनी रूपमा नागरिकता लिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएका थिए । उक्त उजुरी अहिलेसम्म किनारा लागेको छैन ।

    बैंक खातामा जम्मा भएको रकमको अनुसन्धान

    आनीसँग सम्बन्धित अर्को विवाद बैंक खातामा जम्मा भएको रकमको स्रोत र त्यसबारे भएको अनुसन्धानसँग जोडिएको छ । बैंक अभिलेखअनुसार सन् २०१८ जुन २६, २७ र २८ मा उनको मेगा बैंकको खातामा हङकङबाट १६ लाख ४९ हजार अमेरिकी डलर जम्मा भएको थियो । उक्त रकम नेपाली रुपैयाँमा करिब १८ करोड ३१ लाख बराबर हुन्छ । नेपाल राष्ट्र बैंकले रकमको स्रोत शंकास्पद ठहर गर्दै खाता रोक्का गरी थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । अनुसन्धान अघि बढिरहेका बेला राजनीतिक दबाबका कारण प्रक्रिया रोकिएको आरोप अभियानकर्मीले लगाउँदै आएका छन् ।

    आनीले भने आफूले प्राप्त गरेको अन्तर्राष्ट्रिय सहयोग समाजसेवा, स्वास्थ्य संस्था र विद्यालय सञ्चालनमा पारदर्शी रूपमा खर्च गरेको बताउँदै आएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि उनको योगदानको कदर गर्दै कानुनबमोजिम नियुक्ति गरिएको स्पष्टीकरण दिएको छ । लुम्बिनी विकास कोषको उपाध्यक्ष पद बुद्ध जन्मस्थल लुम्बिनीको विकास, पुरातात्विक तथा ऐतिहासिक सम्पदाको संरक्षण र बृहत्तर बौद्ध परिपथको प्रवद्र्धनसँग सम्बन्धित छ । यस पदका लागि तोकिएको शैक्षिक योग्यता र कार्यअनुभवको व्यवस्था नियुक्तिसम्बन्धी विवादको मुख्य विषय बनेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images