काठमाडौं – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान ८ः११ बजे डाइनास्टिक एयर र फिस्टेल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा हेलिकप्टरमा सवार एक विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मृतक विदेशी नागरिकको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा एक जना यात्रु घाइते भएका छन् ।
घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको अवस्था र विवरण भने खुल्न बाँकी छ ।
हिमाली क्षेत्रको फेरुचेमा भएको दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त भएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान तथा विवरण सङ्कलन गरिरहेको जनाएको छ ।























