काठमाडौं – धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ ।
यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालन भएका परीक्षामा उत्तीर्ण गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी पालिकाबाटै अनुमतिपत्र वितरणको व्यवस्था मिलाइएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका स्थानीय युवालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था सुरु गरिएको हो । पहिलो चरणमा यातायात व्यवस्था कार्यालय बर्दिबासबाट सञ्चालित प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेका गाउँपालिकाका ४५ जनाको अनुमतिपत्र प्राप्त भएपछि वितरण सुरु गरिएको उनले जानकारी दिए ।
पालिकाबाटै लाइसेन्स पाउन थालेपछि अनुमतिपत्र लिन यातायात व्यवस्था कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने आशा अगरिएको छ । यसबाट स्थानीय सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई सरकारी सेवा लिन सहज हुने विश्वास गाउँपालिकाले गरेको छ ।






















