झापा । आगामी जेठ २६ गतेदेखि डा.पिताम्बर ठाकुर सेवा निवृत्त हुँदैछन्। उनी १८ बर्ष पहिले ‘इन्टरनल मेडिसिन’मा एमडी गरेर उनी मेची अस्पतालमा सेवा दिनका लागि आएका हुन्।
उनी झापामा जेनेरल फिजिसियनको सेवा शुरु गर्ने ‘पहिलो’ चिकित्सक हुन् ।जुन बेला उनी मेची अस्पताल भद्रपुरमा जेनेरल फिजिसियनको रुपमा काम गर्न आइपुगे त्यो बेला झापाबासीले साँच्चिकै चिकित्सक कस्ता हुन्छन्, कमै देखेका थिए।
प्रारम्भमा एउटा सानो भवनमा सामान्य ‘क्लिनिक’ जस्तो रुपमा रहेको उक्त अस्पताल अहिले चाहिँ अस्पतालको आकार लिएको छ। पछिल्लो समयमा उनले नै मेची अस्पतालको प्रशासनिक कामको नेतृत्व गरे।
२०५० सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट एमबीबीएस अध्ययनपश्चात उनी मोरङको मंगलबारे हेल्थ पोष्टमा खटिए। पछि स्नातकोत्तर तह अध्ययन गरिसकेपछि डा। ठाकुर मेची अस्पताल आएका हुन्।
उनी मेची अस्पतालमा आउँदा उपचार व्यवस्था कसरी चुस्त बनाउने भन्ने चुनौती थियो। कुनै पनि विज्ञ चिकित्सक उक्त अस्पतालमा टिक्दैन थिए।त्यो बेलाको अवस्थाको स्मरण गर्दै डा.ठाकुर भन्छन्, ‘म आएपछि पनि धेरै डाक्टरहरू आउनु भयो। तर दुई दिनमै छोडेर जानु भएको अवस्था पनि थियो।’
अस्पताल भने पनि त्यो बेला प्रयोगशालाको राम्रो व्यवस्था थिएन। भिडियो एक्स-रे, सामान्य शल्य चिकित्सा, इसिजी गर्ने व्यवस्था नहुँदा चिकित्सकहरू मेची अस्पतालमा बस्नै नमान्ने गरेको अवस्थामा डा. ठाकुरले अनवरत् १८ बर्षको सेवापश्चात आगामी बुधबारदेखि बिदा लिँदैछन्।तर अस्पतालबाट बिदा लिए पनि उनले बाचा गरेका छन्, ‘म झापा छोडेर कतै जाँदिन। यहीँ बसेर मेरो क्षेत्रलाई योगदान दिन्छु। बिरामीको सेवा गर्छु।’
उनका अनुसार अहिले मेची अस्पतालमा चिकित्सकहरू टिक्नेसम्मको वातावरण बनेको छ।२०६२र६३ को जन आन्दोलनको बेलामा डा। ठाकुरले देखाएको सक्रियता झापाबासीले अहिले पनि बिर्सेका छैनन्।
२०६३ साल बैशाख ६ गतेको गोलीकाण्ड सकिएपछि मेची अञ्चल अस्पताल खचाखच थियो। घाइतेहरुको उपचारमा अस्पतालका चिकित्सक लगायत सबै कर्मचारी लागेका थिए। उनीहरुको अनुहारमा एक प्रकारको त्रास थियो। कतै अस्पतालमा पनि सेना आइपुग्ने हो कि भन्ने।उपचारका संलग्न डा. ठाकुरका अनुसार चिकित्सकहरूलाई पनि प्रशासनबाट उत्तिकै दबाब थियो।
डा. ठाकुर सम्झन्छन्, ‘त्यस्तो अवस्था कहिले पनि नआवोस अबका दिनमा। त्यो मेरो सेवाका दिनहरूमा सम्झन योग्य घटनाको रुपमा लिन्छु।’


विश्व खबर 




















