काठमाडौं – सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार गरिएको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको जानकारी दिएको हो ।
मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत प्रस्तावित विधेयक अब मन्त्रिपरिषद्मा लैजाने र त्यसपछि संघीय संसद्मा पेस गरिने बताएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा पाउनेछिन् । यस्तै, बुबाले ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा पाउने व्यवस्था गर्न लागिएको छ ।
मन्त्री गौतमका अनुसार बदलिँदो जीवनशैली, बढ्दो कामको चाप र परिवारको संरचनामा आएको परिवर्तनका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका छन् । यस्तो अवस्थामा नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको जिम्मेवारी भएको उन्को भनाइ छ ।
उन्ले बच्चा जन्माउने प्रक्रिया आमासँग प्रत्यक्ष रूपमा जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको बताउनुभएको छ । अभिभावकत्व साझा जिम्मेवारी भएकाले बुबालाई समेत पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले स्याहार बिदाको व्यवस्था प्रस्ताव गरिएको उन्ले उल्लेख गरेको छ ।
हाल कार्यान्वयनमा रहेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्ने व्यवस्था गरेको छ। प्रस्तावित संशोधनले प्रसूति तथा नवजात शिशुको स्याहारमा अभिभावकको भूमिका र बिदासम्बन्धी व्यवस्थालाई थप विस्तार गर्ने लक्ष्य राखेको छ।
विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संसद्मा पेस हुनेछ । संसद्बाट पारित भएर कानुनी रूप लिएपछि मात्र प्रस्तावित बिदासम्बन्धी व्यवस्था कार्यान्वयनमा आउनेछ ।


विश्व खबर 




















