images
images
  • शेखर र पूर्णबहादुर बिच्किएपछि अधिकांश नेताले देउवाको साथ छोडेर रोजे गगन

    काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका करिब ३१ नेता सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा समाहित हुने भएका छन् ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन गरी १५औं महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेपछि देउवा पक्षका नेताहरू समाहित हुन तयार भएका हुन् ।

    संस्थापन पक्षले देउवा पक्षले अघि सारेका आठबुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निकटसहितका नेताहरू पार्टीको मूलधारमा फर्किन लागेका हुन् ।

    शनिबार देउवा पक्षका ३१ नेताले पार्टी एकताको पक्षमा विज्ञप्ति जारी गरेका थिए ।

    महालक्ष्मी उपाध्याय ‘डिना’, सुरेन्द्र पाण्डे, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, श्याम घिमिरे, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महरसहितका नेताहरू त्यसमा छन् ।

    सभापति थापाले समायोजनका लागि विधानअनुसार आवश्यक सदस्य मनोनयन गर्ने र आवश्यक परे विधानको व्यवस्था निलम्बनसमेत गर्न सकिने जनाएका छन् ।

    यसैबीच, देउवा पक्षले भने १४औं महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वमा मात्रै १५औं महाधिवेशन हुनुपर्ने अडान दोहोर्‍याएको छ ।

    सर्वोच्च अदालतले आफ्नो पूर्वफैसला पुनरावलोकन गर्न अनुमति दिएको अवस्थामा हतारमा महाधिवेशन गर्न नहुने देउवा पक्षको तर्क छ ।

    देउवा पक्षका केही नेताले निर्धारित महाधिवेशनमा सहभागी नहुने अडान राखेका छन् ।

    शेखर कोइराला निकट नेताहरूले पनि ३ असोजबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुने बताएका छन् ।

    कांग्रेसले ३ असोजबाट वडा अधिवेशन सुरु गरी १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ ।

    देउवा पक्षले भने १५ असोजबाट वडाधिवेशन र २१–२३ असोजमा समानान्तर महाधिवेशन गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images