काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार)को भूमिका र गतिविधिमाथि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदले प्रश्न उठाएपछि सरकारको कार्यशैलीमाथि बहस सुरु भएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा रास्वपा सांसद डा.अमरेशकुमार सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न दबाब दिएको आरोप लगाए ।
उनले बेनको कथित दिल्ली भ्रमण र भारतीय सुरक्षा संयन्त्रसँगको सम्पर्कबारे समेत सरकारसँग जवाफ मागे ।
सिंहले सरकारको वास्तविक शक्ति केन्द्र सिंहदरबार नभई ललितपुरको ज्वागल बनेको आरोप लगाउँदै सल्लाहकारलाई ‘उत्तरदायित्वबिनाको अधिकार’ दिइएको बताए ।
यसैबीच, जेनजी मुभमेन्ट नेपालले पनि बेनमाथि लागेका आरोपबारे तत्काल अनुसन्धान गर्न माग गरेको छ ।
संगठनले आरोप गम्भीर भएकाले पद र पहुँचका आधारमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने जनाएको छ ।
बेनको भूमिका यसअघि पनि विवादमा आएको थियो ।
सरकारी अधिकारीका अनुसार प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालयको निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको आरोप छ ।
अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री निवासमा बोलाएर छलफल गराएको तथा मालपोत कार्यालयको छड्के अनुगमन गरेको विषयसमेत सार्वजनिक चर्चामा आएको छ ।
बेन प्रधानमन्त्री शाहका पुराना सहकर्मी तथा राजनीतिक रणनीतिकारका रूपमा चिनिन्छन् ।
प्रधानमन्त्री बनेपछि शाहले उनलाई प्रमुख सल्लाहकार नियुक्त गरेका हुन् ।
उनको परिवारका सदस्यहरूलाई समेत विभिन्न सरकारी तथा राजनीतिक नियुक्ति दिइएको विषयमा प्रश्न उठ्दै आएको छ ।
तर, रास्वपाले भने बेनमाथि लागेका आरोपबारे अहिलेसम्म औपचारिक छलफल नगरेको जनाएको छ ।
पार्टी प्रवक्ता जगदीश खरेलले सांसद र सञ्चारमाध्यमबाट आएका विषय आफूहरूले सुने पनि पार्टीमा यसबारे औपचारिक छलफल नभएको बताए ।
पूर्वप्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरेका नेता प्रकाश ज्वालाका अनुसार सल्लाहकारको भूमिका प्रधानमन्त्रीलाई सुझाव दिने र शासन सञ्चालनमा सहयोग गर्ने हो, कार्यकारी निर्णय गर्ने होइन ।
सल्लाहकारले प्रशासनिक काममा प्रत्यक्ष हस्तक्षेप गरे शासकीय अराजकता निम्तिन सक्ने उनको भनाइ छ ।
को हुन् कुमार बेन ?
कुमार बेन ललितपुर महानगरपालिका–१० का पूर्वस्वतन्त्र वडाध्यक्ष नरसिंह व्यञ्जनकारका कान्छा छोरा हुन् ।
नरसिंह व्यञ्जनकार लामो समय स्वतन्त्र उम्मेदवारका रूपमा वडाध्यक्ष निर्वाचित भएका थिए ।
प्रधानमन्त्री शाहको राजनीतिक यात्रामा बेनले सुरुदेखि नै रणनीतिक भूमिका खेलेको उनीनिकटहरूको दाबी छ ।
काठमाडौं महानगरपालिकाको निर्वाचनदेखि शाहको राष्ट्रिय राजनीतिमा प्रवेशसम्म उनले रणनीति निर्माण र सामाजिक सञ्जाल परिचालनमा भूमिका खेलेको बताइन्छ ।
शाह प्रधानमन्त्री बनेपछि बेन प्रमुख सल्लाहकार नियुक्त भएका हुन् ।
त्यसयता उनको प्रभाव र कार्यक्षेत्रबारे सार्वजनिक रूपमा प्रश्न उठ्दै आएको छ ।
अहिले भने सत्तारूढ दलकै सांसदले संसद्मा गम्भीर आरोप लगाएपछि प्रधानमन्त्रीको सचिवालय र रास्वपामाथि त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न दबाब बढेको छ ।






















