काठमाडौं– राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरबाहिर गर्भवती महिलाले शिशु जन्माएको घटनामा छानबिन समितिले ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
२५ भदौमा प्रसूति सेवाका लागि अस्पताल पुगेकी बबिता पासवानले आवश्यक रकम नभएको भन्दै उपचार नपाएको ठानेर अस्पतालबाहिर निस्किएपछि सडक पेटीमै शिशु जन्माएकी थिइन् ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित समितिले घटनामा अस्पताल प्रशासन, चिकित्सक, नर्स, प्यारामेडिक्स र सुरक्षागार्डको कमजोरी औंल्याएको हो ।
अस्पताल पुगेकी बिरामीलाई उपचारका लागि रोक्न, आवश्यक परामर्श दिन र लामो समयसम्म अस्पतालबाहिर रहँदा खोजी गर्न नसक्नु कर्मचारीको कमजोरी भएको समितिको निष्कर्ष छ ।
समितिले आमा सुरक्षा कार्यक्रमबारे स्वास्थ्यकर्मीमै पर्याप्त जानकारी नरहेको र आवश्यक प्रयोगशाला परीक्षणमा शुल्क लाग्ने व्यवस्थाले आर्थिक रूपमा कमजोर महिलालाई सेवा लिन कठिन बनाएको पनि जनाएको छ ।
कार्यक्रमअन्तर्गत प्रसूति सेवासँग सम्बन्धित आवश्यक परीक्षण तथा सेवाको दायरा स्पष्ट बनाउन सुझाव दिइएको छ ।
२५ देखि २७ भदौसम्म स्थलगत अध्ययन गरेको समितिले घटनासम्बन्धी प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ ।


विश्व खबर 




















