images
images
  • गण्डकीमा डेङ्गु सङ्क्रमित २ हजार ३११ पुगे

    काठमाडौं– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म २ हजार ३११ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । मनाङमा भने यस वर्ष अहिलेसम्म डेङ्गु देखिएको छैन ।

    प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको छ ।

    जेठ र असारमा ४१५ जनामा सङ्क्रमण देखिएकामा साउनमा बढेर १ हजार २४७ पुगेको थियो । भदौ लागेयता ३८२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    सेप्टेम्बर ७ देखि १३ सम्मको एक सातामा मात्रै २२८ जनामा सङ्क्रमण देखिएको केन्द्रका निर्देशक मनमोहन मिश्रले जानकारी दिए ।

    त्यसमध्ये बागलुङमा १७०, कास्कीमा २०, पर्वतमा १६, म्याग्दीमा सात, गोरखामा छ, स्याङ्जामा चार, तनहुँमा तीन र लमजुङमा दुई जना संक्रमित भएका छन् ।

    पछिल्लो साता बागलुङ नगरपालिका सबैभन्दा बढी प्रभावित देखिएको छ । त्यहाँ मात्रै ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि पोखरा महानगरपालिकालगायत अन्य स्थानीय तहमा सङ्क्रमण बढी देखिएको केन्द्रले जनाएको छ ।

    प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

    चिकित्सकका अनुसार डेङ्गु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे जमेको सफा पानीमा प्रजनन गर्ने भएकाले घर, कार्यालय तथा सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने र पुराना टायर, ड्रम, भाँडाकुँडा तथा खाल्डाखुल्डीमा जमेको पानी हटाउनुपर्छ ।

    डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन तथा लामखुट्टेको बासस्थान नष्ट गर्न चिकित्सकले सुझाव दिएका छन् । बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने वा अत्यधिक थकानजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images