काठमाडौं– बाढीपहिरोबाट प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन शाओमी नेपालले २०० सेट अत्यावश्यक घरायसी सामग्री सहयोग गरेको छ ।
शाओमी नेपालको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोग काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको हो ।
बाढीपहिरोका कारण घरायसी सामग्री गुमाएका तथा प्रभावित परिवारलाई खाना पकाउन र खानपिनमा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सहयोग गरिएको शाओमी नेपालले जनाएको छ ।
प्रत्येक राहत सामग्रीको एक सेटमा एक थान प्रेसर कुकर, एक थान कराइ, पाँच थान प्लेट, पाँच थान चम्चा, छ थान कप, पाँच थान कचौरा र एक थान थर्मस बोतल समावेश छन् ।
यसअनुसार २०० सेटमा २०० थान प्रेसर कुकर, २०० थान कराइ, एक हजार थान प्लेट, एक हजार थान चम्चा, एक हजार २०० थान कप, एक हजार थान कचौरा र २०० थान थर्मस बोतल रहेका छन् ।
शाओमी नेपालले विपद्बाट प्रभावित परिवारलाई पुनः सामान्य जीवनतर्फ फर्किन सहयोग पुगोस् भन्ने उद्देश्यले घरायसी सामग्री उपलब्ध गराएको जनाएको छ ।
शाओमी नेपालले यसअघि पनि भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो ।
पछिल्लो सहयोगमार्फत प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने प्रयासलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।
विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको शाओमी नेपालको भनाइ छ ।


विश्व खबर 



















