images
images
  • प्रधानमन्त्रीज्यू, अयोग्य लडाकुलाई ८० करोड बाँड्ने कि गरिखान सिकाउने ?

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अयोग्य लडाकुलाई ८० करोड रुपैयाँ बाँड्न लागेका छन् । ‘देश आर्थिक रुपमा टाँट पल्टिन लागेको बेला यस्तो गर्नु हुँदैन’ भनेर सबैले भनिरहेका छन् । निश्चितै छ कि प्रधानमन्त्रीले यो काम रोक्नु हुने छैन ।

    संयोग यस्तो हो कि माओवादी नेताहरुको भाग्य मै यस्तो लेखिएको थाहा छैन । तर उनीहरु आजसम्म समृद्धि, प्रगति, आर्थिक उपार्जन, विकासमा कहिले पनि कोही पनि जोडिएनन् । अरु पार्टीका नेता पनि जोडिएका छैनन्, तर इतिहाँसले अरु पार्टीसँग होइन, माओवादीसँग बढी हिसाब खोज्ने छ, किनभने समाजप्रति माओवादीको सबैभन्दा बढी दायित्व छ ।

    जनयुद्धमा १७ हजार मान्छे मारिएका थिए, हजारौं अंगभंग भएका छन् । अर्बौं खर्बौको नोक्सानी उनीहरुबाट भएको थियो । त्यो क्षतिको पूर्ति गर्नुपर्ने दायित्वमा माओवादीहरु थिए ।

    तर यो संयोग नै हो वा अरु केही, माओवादीका प्रत्येक नेता ध्वंस, क्षति, अधोगति, देश टाट पल्टाउने थितिसँग जोडिन पुगे । यस्तो छुट उनीहरुलाई थिएन, तर रोक्ने कसले ?

    माओवादीका नेताहरुले अक्सर देशलाई चाहिने वस्तु होस वा सेवा, स्वदेशमै उत्पादन गर्नु पर्छ भन्ने गर्छन् । तर जब ढुकुटीको चाबी आफूसँग भयो, त्यसपछि उनीहरु उत्पादन होइन, ढुकुटी रित्याउने गरी नगद बाँड्न थाल्छन् ।

    यदि प्रधानमन्त्री दाहाल साँच्चै उत्पादनमुखी थिए भने उनले ८० करोड रुपैयाँ बाड्ने होइन, एउटा ठूलो कृषि फार्म खोल्ने र त्यहाँ ती चार हजारलाई काम गर्न सक्ने बेलासम्म रोजगारी दिलाउने गरी योजना बनाउँथे । देशमा दाल चामलको कुरा मात्रै होइन दर्शकवृन्द कोरियाको छ्याङ, अर्जेन्टीनाको मुरली मकै, ब्राजिलदेखि काठका सामाग्री पनि आयात हुन्छन् । ८० करोड लगानी गर्दा केही वस्तुमा मुलुक आत्मनिर्भर हुन सक्थ्यो । तर स्वदेशमै आफूलाई चाहिने वस्तु उत्पादन गरियो भने विदेशीले उत्पादन गरेका वस्तु कसरी आयात हुन्थे ? विदेशी प्रभु खुसी पार्न पनि नेपालमा यस्ता काम गरिँदैनन् ।

    प्रधानमन्त्री साँच्चै यो देशलाई माया गर्थे र आफ्ना अयोग्य लडाकुप्रति बफादार हुन्थे भने उनले ती लडाकुलाई नगद बाँड्ने होइन, गरिखान सिकाउँथे ।

    अब ती अयोग्य लडाकुले दुई दुई लाख बुझ्छन्, त्यही पैसाले खाडी मलेसिया पुग्छन् । यसरी जाने मध्ये कतिपय सुरुमै दलालबाट ठगिन्छन् । विदेश पुगेपछि पनि कतिपय अर्काे वर्गका दलालबाट ठगिन्छन् । विदेशमा कुनै नेताका ज्वाई, कसैका भतिजा राजदूत भएर बसेका छन् । ठगिने नेपालीका लागि त्यहाँ कसैले बोलिदिँदैनन् ।

    केहीले पैसा कमाएर नेपाल पठाए छन् नै भने पनि उनका परिवारले रेमिट्यान्सबाट स्मार्ट फोन, टिभी, फ्रिज किन्छन् । लत्ता कपडा र दालभातमै खर्चिन्छन् । अन्ततः बडो दुःखले भित्रिएको रेमिट्यान्स एक रात पनि बास नबसी फेरि चीन, भारत, युरोप अमेरिकासम्म पुग्छ ।

    भन्न खोजेको के हो भने, २ लाख राहत दिएर हुन्छ चाहिँ के ? काठमाडौंका निजी अस्पतालमा बिरामी भएर दुई रात बस्नु पर्यो भने त्यो दुई लाख त्यही सिध्दिन्छ । नेताले चलाएका निजी स्कुलमा बालबच्चा पढाउने हो भने दुई लाख चार महिनाको फि तिर्दै सक्किन्छ ।
    तर यस्तो पैसालाई आर्थिक उपार्जनमा लगेर जोड्ने हो भने कस्तो हुन्थ्यो होला ? उत्पादन, आर्थिक समृद्धि, स्वाधीन आत्मनिर्भर अर्थतन्त्र त नेताहरुका भाषण मात्रै हुन् ।

    भएको पैसा बाँडेर सिध्याउने अनि देशलाई चाहिँ सधै मगन्ते बनाइ रहने हो र प्रधानमन्त्री ज्यू ? आर्थिक परिसूचकहरुले भनिरहेका छन् कि अब देशको आयले कर्मचारीलाई तलब खुवाउन पनि पुग्ने अवस्था रहेन । विकास खर्च नाम मात्रैको छ । देशमा आर्थिक मन्दीको अवस्था छ ।

    उद्योगी व्यवसायी निराश छन् । यस्तो बेला विकास, निर्माण, उद्योग, उत्पादनमा बढीभन्दा बढी लगानी गर्नु पर्ने बेला प्रधानमन्त्री नै लुटेरै ल्याए झै पैसा बाँड्न खोजिरहनु भएको छ ।

    हामीले विरोध गर्दैमा त उहाँ रोकिनु हुन्न थाहा छ, तर यो शैलीले ती अयोग्य लडाकुको पनि हित हुँदैन । यति पैसा बाँडेर तिनले आजीवन दुःख नपाउने ग्यारेन्टी भए हामी पनि बोल्दैन थियौं, किनभने ती पनि आखिर नेपाली नै हुन् ।

    अब लुटको नशा देशका शासकहरुमा मात्रै छ कि जनतामा पनि छ त ? यो विषयमा अलिकति चर्चा गर्छु । लुटेर होइन, इन नोभेटीभ आइडिया, स्टार्टअप बिजनेस, मेहनत गरेर पैसा कमाउनु पर्छ भन्ने त हाम्रो देशमा धेरैमा सोच नै छैन ।

    ससुरालीमा पनि भन्सार, एअरपोर्ट, यातायातमा काम गर्ने ज्वाईंलाई बढी सम्मान हुन्छ । त्यहाँ सम्मान ज्वाईले पाएको होइन, घूसको पैसाले पाएको हो । हुलाकमा काम गर्ने ज्वाई र भन्सारमा काम गर्ने ज्वाईलाई ससुरालीमै विभेद हुन्छ, अन्यत्रको के कुरा गर्नु ।

    ठमेलमा एक रिक्सा चालकले एक विदेशी ब्लगरलाई ठगेको भिडियो फुटेज भाइरल भएको छ । १५० मा रेट तय भएर रिक्सा यात्रा गरेका विदेशीलाई रिक्सा चालकले ५० रुपैयाँ ठग्छन्, मुख छाडेर गाली पनि गर्छन् ।

    मौका पाउँदा त एउटा रिक्सावालाले समेत छाड्दैन भने कोही व्यक्ति प्रधानमन्त्री नै भइसक्दा उसले छाड्ने कुरा आउला र ? भ्रष्ट आचरण त समाजको विशेषता बनिसक्यो । सरकारमा बसेका होउन वा बैंक चलाउने इच्छाराज तामाङ जस्ता होउन वा यी ठमेलका रिक्सा चालक होऊन् । यी सबैको चरित्र एउटै हो । कसैले ५० रुपैयाँ ठग्छन्, कसैले ५० अर्ब भ्याइ दिन्छन् । देश खोक्रो पार्ने यी हुनमा चाहिँ धमिरै हुन् । दौरा सुरुवाल, भादगाउँले टोपी लगाएर घुम्ने कुर्सीमा बस्नेलाई ठूलो खाले धमिरा, रिक्साको सिटमा बस्ने चाहिँ सानो खाले धमिरा । हुन् त सबै धमिरा नै ।

    प्रतिक्रिया दिनुहोस्

    images