images
images
  • एनपीएल : कर्णालीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ

    काठमाडौं – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले फिल्डिङ रोजेपछि सुदूरपश्चिम ब्याटिङमा उत्रिएको हो ।

    तीन खेल खेलेको कर्णालीले दुईमा जित र एकमा हार बेहोरेको छ । उसले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने कर्णाली काठमाडौं गोर्खाजसँग चार विकेटले पराजित भएको थियो । कर्णालीको खातामा चार अंक छ ।

    दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले चार खेलमा दुई जित र दुई हार बेहोरेको छ । सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेट र तेस्रो खेलमा विराटनगर किङ्ससँग ३५ रनले पराजित भएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई छ विकेट र चौथो खेलमा चितवन राइनोजलाई पाँच विकेटले हराएको थियो ।

    सुदूरपश्चिमको पनि चार अंक छ । समान अंक रहेका दुवै टोली आजको खेल जित्दै आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images