काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो खेमा सरकारमा गएको छ । महतोले आफुहरु मुद्दाको आधारमा सरकारमा सहमागि भएको बताए ।
उनले भने, ‘हामी मधेसको माग र मुद्दाका बारेमा काम गरिररहेका छौँ । त्यसकै आधारमा सरकारमा सहभागी भयौँ । केही माग कार्यान्वयन भए केही बाँकी छन् । अब तिनलाई पनि हामी सरकारमा गएर कार्यान्वयन गर्छौं ।’
महतोले भविष्यमा पनि आफूहरु मुद्दा केन्द्रित भएरै काम गर्ने बताए । उनले पार्टीको मूल प्रवाह र बहुमत आफूहरुसँगै रहेको समेत जिकिर गरेका छन् । हामीसँग ७० प्रतिशत पकड छ, उनले भने, ‘हामी सरकारमा जाँदैमा पार्टी फुट्दैन । सिंगै जसपा रहन्छ ।’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समझदारी भएपछि जसपाको ठाकुर–महतो पक्ष सरकारमा गएको हो । जसपाकै उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष भने कांग्रेससँग मिलेर प्रदेश २ मा सरकार बनाउने कसरतमा लागेको छ ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठले जसपा जस्ता पार्टीहरु निर्माणकै क्रममा रहेकाले सत्तामा जान असाध्य लोभ गर्ने बताए । उनले भने, ‘यि पार्टी निर्माणकै क्रममा छन् । निर्माण भइसकेको पार्टीको एउटा सिद्धान्त, विचार र पद्दती हुन्छ । यिनिहरुमा छैन । सत्तामा गए सबै प्राप्त हुन्छ भन्ने मानसिकता मात्रै उनीहरुमा छ ।’ यसलाई आश्चर्य मान्नुपर्ने कारण नरहेको उनको भनाई छ ।


विश्व खबर 


















