काठमाडौं, जेठ २१ गते । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटको आलोचना गर्ने कुनै ठाउँ नरहेको बताउनुभएको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्ने क्रममा गुरुङले विपक्षी दलहरुले बजेटको आलोचना गर्ने कुनै कारण नभेटाएको बताउनुभएको हो । उहाँले विपक्षी गठबन्धनहरुले पनि बजेटको बुँदाहरुमा कुनै पनि आलोचना गर्न नसकेको दाबी गर्नुभयो ।
उहाँले नेपाल पत्रकार महासंघबाट प्रायजसो आलोचना मात्रै हुने गरेकोमा यस वर्षको बजेटलाई पत्रकार महासंघले स्वागत गरेर एउटा राम्रो संस्कारका सुरुवात गरेको बताउनुभयो ।
कोभिड–१९ को महामारीमा बजेटको जर्बजस्त विरोध गर्नुभन्दा पनि आमनागरिकको जीवनरक्षाका लागि राजनीतिक दलका सबै निकाय, जनप्रतिनिधि र समाजसेवीहरुले मानवीय भाव देखाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
वर्तमान सरकारलाई कमजोर बनाउने उद्देश्यले भोलीका दिनमा आफैं कमजोर हुने काम विपक्षी दलहरुले गर्न नहुने गुरुङले बताउनुभएको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकबारे जानकारी गराउनुहुदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई छिटोभन्दा छिटो खोप लगाउन यथासक्य पहल गरिरहनुभएको जानकारी पनि दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्