पोखरा- बालयौन दुरुपयोगको मुद्दामा अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायधीश श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइको फैसला सुनाएको हो ।
पल शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले पल शाहलाई सबै प्रकारका अभियोग दाबीबाट पूर्णरूपमा सफाइ दिने फैसला भएको र उनी सोमबार तनहुँ कारागारबाट रिहा हुने बताए ।
‘सुरु नवलपुर जिल्ला अदालतको सो फसला उल्टी भई पुनरावेदक प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ,’ उच्चको आइतबारको फैसलामा भनिएको छ, ‘शाहलाई अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदार ठहर गरी पाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।’
तसर्थ निजलाई अन्य मुद्दाको रोहबाट थुना वा कैदमा राख्नु नपर्ने भएपछि उनी ठीक एक वर्षपछि जेलजीवनबाट रिहा हुन लागेका हुन् ।
पलको तर्फबाट आइतबार वरिष्ठ अधिवक्ताहरू कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ताहरू गणेशप्रसाद अधिकारी, जनकराज ढुंगाना र माधव घिमिरेले बहस गरेका थिए भने सरकारी वकिल उच्च न्यायाधिवक्ता रामप्रसाद अधिकारीले बहस गरेका थिए ।
आइतबार करिब ३ घण्टासम्म बहस चलेको थियो ।
एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अभिनेता शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । सो सम्बन्धमा नवलपुरको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय र पल शाह दुवै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।





















