images
images
  • फेब्रुअरी १४, प्रेम दिवसको बेग्लै इतिहास !

    काठमाडौं- आज प्रेम दिवस अर्थात फेब्रुअरी १४ ! प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ ।

    विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।

    यस्तो छ प्रणय दिवसको बेग्लै इतिहास
    प्रणय दिवसको आफ्नो बेग्लै इतिहास छ । तेस्रो शताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनले भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन ।

    उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौँ अधिकारी र सैनिकको विवाह समेत गराइदिए ।

    जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यताविपरीत प्रेम र विवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । त्यसपछि उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

    भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भई सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’

    यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनू।’ यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरूले प्रणय दिवस मनाउन सुरु गरे ।

    यो दिवस मनाउने क्रममा प्रेमी प्रेमीकाले एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने तथा युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन् ।पछिल्लो समय भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहव्यापी रूपमा यो दिवस मनाइने गरिन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउने गरिन्छ ।

    प्रेम भएपछि भ्यालेन्टाइन डे नै कुर्नुपर्दैन !!

    प्रेम भएपछि भ्यालेन्टाइन डे नै कुर्नुपर्दैन !! ,वरिष्ठ साहित्यकार तुलसी दिवसको प्रेमबारे आफ्नै बुझाइ छ ।

    “प्रेम एउटा भावनात्मक मिलन हो । त्यहाँ विश्वास र समर्पण हुन्छ । प्रेमलाई जोडीको रोमान्स र सम्बन्धका रूपमा बुझ्नु गलत हुन्छ”, उनी भन्छन्, “प्रेम आफैंलाई थाहा नभई बस्न सक्छ । आँखा–आँखाबीच कुरा हुन्छ । आँखा जुधेर प्रेम बस्छ । प्रेम पोख्न कुनै शब्दको प्रयोग गर्न जरुरी छैन ।”

    अर्को शब्दमा एकअर्कासँग सम्पर्कमा रहनु माया हो । आँखा मनको कोठाको झ्याल हो । मनभित्र के छ थाहा पाउन झ्यालको ढोका खोल्नुपर्ने हुन्छ ।

    “सच्चा प्रेमका लागि भ्यालेन्टाइन कुर्नुपर्दैन । पलपलमा हुनुपर्छ प्रेम ।” दिवसका अनुसार एक अर्कालाई चोट नपु¥याउँदा र इगो हर्ट नगर्दा प्रेमसम्बन्ध प्रगाढ हुन्छ ।

    कतिपय व्यक्तिका प्रेम हार्दिकताभन्दा लोभलालच, बासना, धनसम्पत्तिसँग सम्बन्धित हुन्छ । आफ्नो इच्छा पूर्तिसँगै त्यस खालको प्रेममा परिवर्तन आउने दिवसको अनुभव छ ।

    प्रेम महिला र पुरुषबीच मात्र नभई सहयोग र सद्भावका रूपमा पनि विकसित हुन थालेको दिवसको बुझाइ छ ।

    साहित्यकार दिवसले जीवनमा प्रेम शब्दमा व्यक्त गर्नुपर्ने मानिस धेरै भेटेका छन् ।

    उनका अनुसार मानिस प्रेम भावनामा जोडिन सुरु भएसँगै भ्यालेनटाइन डे लोकप्रिय बनेको हो । एक दिन एकअर्कालाई प्रेम भावना अभिव्यक्त गर्ने र उपहार लेनदेन गर्ने माध्यम बनेको छ । प्रेमीलाई मन पर्ने उपहार, फूल, क्यान्डी दिने मनका भावना साट्ने अवसर हो भ्यालेन्टाइन डे ।

    आफ्ना विगतका दिन सम्झिँदै दिवस भन्छन्, ’उपहार दिनु प्रेमको सङ्केत हो । उपहार र फूल पाउन मैले कहिल्यै पनि भ्यालेन्टाइन डे कुर्नुपरेन । प्रेम भएपछि भ्यालेन्टाइन डे नै कुर्नपर्छ भन्ने धारणा गलत हो ।’

    विशेषगरी आजका युवकयुवतीमा ‘भ्यालेन्टाइन्स डे’प्रति धेरै झुकाव भएको देखिन्छ ।

    सुरुवाती दिनमा भन्दा अचेल भ्यालेन्टाइन डे खुलेर मनाउने गरेको पाइन्छ । आफ्नो प्रेमी प्रेमिकाका लागि यस दिन मायाको उपहारस्वरुप विभिन्न कार्डमा भावना व्यक्त गर्ने चलन छ ।

    संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार हाम्रो नेपाली संस्कृति पनि प्रेम दिवससँग जोडिएको छ । प्रेम दिवस मनाउन हामीले पश्चिमा संस्कृति भ्यालेन्टाइन डे नै मनाउन पर्छ भन्ने छैन ।

    उनी भन्छन्, नेपालमा प्रेमको प्रतीकको रुपमा मतिना पारु, फागु पुर्णिमा, श्री पञ्चमीलगायत मोहोनी नखलाई लिन सकिन्छ ।

    नेपाल भाषामा मतिनाको अर्थ ‘प्रेम’ र ‘पारु’को अर्थ ‘पर्व’ हो ।

    “हामीले ताजमहललाई प्रेमको प्रतीकको रुपमा लिने गर्छौं । तर ताजमहलभन्दा पनि मान्यता पाएको प्रेमको प्रतीक स्वयम्भूको प्रतापपुर र अनन्तपुर हाम्रो संस्कृति हो । स्वयम्भूको यो मन्दिर राजा प्रताप मल्लले रानी अनन्तप्रियाको स्मरणमा बनाइएको शिखर शैलीको मन्दिर हो ।

    यस्तै, चाँगुनारायणको तलपट्टि रहेको कालिका गुफाको मुखैमा प्रताप मल्ल र रानी अनन्तप्रियाको प्रतीक देख्न सकिन्छ ।

    यस्ता मायाप्रेम नहुने हो भने यस्ता कृतिहरु बन्ने थिएन र हाम्रो सिङ्गो नेपाल मतिनामय रहेको श्रेष्ठको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images