काठमाडौं- बलात्कार मुद्दाको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनुहँले सफाई दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अन्तिम सुनुवाइ गर्दै ‘अभियोग दाबी नपुग्ने’ भन्दै सफाइ दिएको हो।
अभिनेता शाहलाई सफाइ दिए पनि उनी जेलमुक्त भने हुने छैनन्। तनहुँ अदालतले सफाइ दिए पनि उनीविरुद्ध जिल्ला अदालत नवलपुरले अढाइ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसला अनुसार पल २०८१ भदौ १५ गतेसम्म जेल बस्नुपर्छ।
उनले २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका थिए। प्रहरी कार्यालयमा ११ फागुनमा एक नाबालिग गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक–पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो।
जिल्ला अदालत तनहुँले अभियोगमा दाबी नपुग्ने भनेको छ। यसको अर्थ बलात्कारको मुद्दाबाट सफाई दिएको भन्ने हो।
नवलपुर अदालतले पनि शाहलाई बलात्कारको आरोपमा सफाइ दिएको थियो तर बाल यौन दुरुपयोगको कसुरमा उनलाई साढे २ वर्षको जेल र क्षतिपूर्तिबापत १० लाख रूपैयाँ जरिवाना तोकिएको थियो।
शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएकाले अदालतले जेलमुक्त गर्ने आदेश दिएमा उनको जेलजीवन छोटिनसक्छ।





















