images
images
  • सेयर बजारमा निरन्तर बढ्दो उत्साह, ५ अर्ब ३१ करोड बढीको कारोबार

    काठमाडौं- निरन्तर बढ्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से चालु आर्थिक वर्ष (आव) लागेपछिकै उच्च बिन्दुमा पुगेको छ । १० जेठ २०७९ मा २२१७.१९ अंकमा बन्द भएको नेप्से सोमबार त्यसयताकै उच्च बिदुमा पुगेको हो ।

    साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ४७.१७ अंकले वृद्धि हुँँदा २२११.७६ अंकमा बन्द भएको छ । सेयर लगानीकर्तामा बढ्दो उत्साहले बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । गत बिहीबार ५ अर्ब माथिको कारोबार भएको बजारमा लगातार तेस्रो कारोबार दिन पनि ५ अर्ब माथिको कारोबार भएको छ ।

    सोमबार नेप्सेमा कुल ५ अर्ब ३१ करोड ४३ लाख ८ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको सर्वाधिक २० करोड ६८ लाख १७ हजारको कारोबार भएको छ । त्यस्तै ङ्याली ग्रुप पावरको १६ करोड ९६ लाख ९९ हजार र एनआईसी एशिया बैंकको १६ करोड ७८ लाख ६७ हजारको कारोबार भएको छ ।

    सोमबार नेप्सेमा होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा वृद्धि हुँँदा हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ४.९४ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि २.११ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसूचक भने ०.७० प्रसतिशतले घटेको छ ।

    सोमबार नेप्सेमा कुल २१० कम्पनीको सेयर कारोबार भएकोमा करिब एक दर्जन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । कारोबार भएकामध्ये १७३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा अधिकाम्स जलविद्युत कम्पनी रहेका छन् ।

    स्वाभिमान लघुवित्तको सेयरमूल्य सर्वाधिक ३.५७ प्रतिशतले गिरावट हुँदा धौलागिरी लघुवित्तको सेयरमूल्य २.४४ प्रतिशत र डिप्रोक्स लघुवित्तको सेयरमूल्य १.८० प्रतिशतले गिरावट भएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images