images
images
  • यी हुन् पुसमा मर्ज भएर एकीकृत कारोबार गरेका आठ बैंक

    काठमाडौं- पुस महिनामा वाणिज्य बैंकहरू एक–आपसमा गाभिने प्रक्रिया (मर्जर)को लहर लागेको छ । मर्जर प्रक्रियामा रहेका ६ वाणिज्य बैंकहरूले तीनवटा बैंक भएर यही महिनाभित्र एकीकृत कारोबार गर्ने भएका छन् ।

    पुसमा नै कुमारी र एनसिसीले एकीकृत कारोबार सुरु गरिसकेका छन् । त्यस्तै, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस महिनाभित्रै हुने भएका छन् । ६ वाणिज्य बैंकले वार्षिक साधारणसभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गर्नुका साथै राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् । पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट वञ्चित हुने भएपछि बैंकहरू हतार–हतार एकीकृत कारोबार गर्न लागेका हुन् ।

    ग्लोबल र बिओके
    १४ पुसमा राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै ग्लोबल आइएमई र बिओके २५ पुसबाट एकीकृत कारोबार गर्ने भएको छ । ग्लोबल र बिओके एक भई ग्लोबल आइएमई बैंककै नाममा एकीकृत कारोबार हुनेछ । मंसिर २३ गते एकै दिन सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको हो । यी दुई बैंक १ः१ को सेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरपछि कुल चुक्ता पुजी ३४ अर्ब ४१ करोड हुनेछ ।

    सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालसहित पाँचजना बिओकेको तर्फबाट दुईजना रहनेछन् । बैंकको सिइओ रत्नराज बज्राचार्य रहने तय भइसकेको छ । मर्जरपछि कुल तीन सय ८५ शाखा, तीन सय ६७ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ, ६१ विस्तारित शाखा, तीन विदेशस्थित सम्पर्क कार्यालय हुनेछन् ।

    एनआइबिएल र मेगा
    नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पनि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी थालेका छन् । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट र मेगा १००ः९० कित्ता अर्थात् मेगाको १०० कित्ताबराबर इन्भेष्टमेन्टको ९० कित्ता सेयर हुनेछ । बैंकको सिइओ ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाँडे नै हुनेछन् । कुल चुक्ता पुँजी ३२ अर्ब ८१ करोड हुनेछ ।

    प्रभु र सेन्चुरी
    गत पुस १८ गते प्रभु र सेन्चुरी बैंकले समेत मर्जरका लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् । राष्ट्र बैंकको स्वीकृतिपछि दुई बैंकको एकीकृत कारोबार आउँदो पुस २९ गते शुक्रबारबाट हुने तयारी छ ।

    प्रभु र सेन्चुरीले १ः१ को सेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । सेन्चुरीलाई प्राप्ति गरेपश्चात् प्रभु बैंककै नामबाट एकीकृत कारोबार हुने समझदारी भइसकेको छ । प्राप्तिपछि प्रभु बैंककै सिइओ अशोक शेरचन रहनेछन् भने सेन्चुरीबाट वरिष्ठ डेपुटी सिइओ मनोज न्यौपाने र सञ्चालकमा तीनजना समावेश हुनेछन् । दुई बैंक गाभिएपछि कुल चुक्ता पुँजी २२ अर्ब २५ करोड हुनेछ ।

    कुमारी र एनसिसी
    कुमारी र एनसिसी बैंकले १७ पुसबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् । कुमारीमा एनसिसी बैंक गाभिएसँगै कारोबार कुमारी बैंककै नामबाट सुरु भएको हो । मर्जरपछि बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन तीन खर्ब दुई अर्ब र कर्जा लगानी दुई खर्ब ८० अर्ब रुपैयाँ छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसीका रमेशराज अर्याल भएका छन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत भएका छन् ।

    तीन सय ६ वटा शाखा सञ्जाल, ४७ एक्सटेन्सन काउन्टर, ६२ शाखारहित बैंकिङ र तीन सय ४५ वटा एटिएम पुगेका छन् । अहिले कुमारी बैंकको प्रधान कार्यालय काठमाडौंको टंगालमै राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images