पोखरा । बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदमा बुधबार ५ हजार मिटर महिला दौडमा स्वर्ण जितिन् ।
‘आज कीर्तिमानका लागि दौडिएकी थिएँ । त्यो भएन । तर दुईस्वर्ण जित्दा खुशी छु,’ उनले भनिन् ।
दौड सकाएर फिनिसिङ प्वाइन्ट अगाडि आएपछि उनी ट्रयाक छेउमा बसिन् अनि आफ्ना जुत्ता खोलेर त्यसलाई ढोगिन् । ‘दौड पूरा गर्न सकेँ भनेर जुत्ता ढोगेकी हुँ,’ जुत्ता ढाग्नुको कारणबारे उनले भनिन्, ‘जुत्ता लगाउने कि स्पाइक लगाउने भनेर सोचिराथें । स्पाइकले झन् दुख्छ । तर अन्तिममा स्पाइक नै लगाएर कुदें ।’
सन्तोषीले १७ मिनेट ०५.२५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।
सन्तोषीले चोटकै कारण बीचमा छाडम् कि जस्तो अवस्था आइसके पनि गुरुको सन्देश सम्झेर दौडेको बताइन् । ‘पैतालामा घाउ छ । अलि गाह्रो भइरहेको थियो । तीन किलोमिटर दौडेपछि बीचमै छाडम् कि जस्तो पनि भइरहेको थियो । तर पूरा चाहिँ गर्नुपर्छ भनेर दौडिएँ र सकाएँ,’ उनले भनिन् ।
सन्तोषीले अन्तिम ल्यापमा आएपछि राजपुरालाई पछि छाड्दै एकल अग्रता बनाएकी थिइन् । ‘मैले दुई ल्यापपछि नै लिड बनाउन खोजेकी थिएँ तर सकिनँ,’ उनले भनिन् ।
मध्यम दुरीमा घरेलु एथलेटिक्सकी चर्चित धाविका सन्तोषीको लक्ष्य अब ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने रहेको छ ।


विश्व खबर 


















