काठमाडौं- सरकारले आगामी मंसिर ४ मा एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरी प्रधान कार्यालयले एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरी भर्ती गर्न लागेको हो ।
म्यादी प्रहरीका लागि यही ३० भदौदेखि ६ असोजसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले देशभरका प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने प्रहरीले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।
तोकियोको मितिभित्र दरखास्त बुझाउने व्यक्तिले आवेदन दिएको कार्यालयमा ७ असोजमा सम्पर्क गर्न पनि प्रहरीले भनेको छ । म्यादी प्रहरीको अवधि ४० दिनको हुनेछ भने उनीहरुले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक पाउने छन् ।
उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २०० रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ पाउने छन् । साथै हिमाली जिल्लामा खटिनेलाई थप एक हजार पोशाक भत्ता पाउने छन् । यसैगरी आउने–जाने खर्च एक हजार रूपैयाँ र ३०० रुपैयाँको दरले चार दिनको खाजा खर्च एक हजार २०० रुपैयाँ पनि पाउने सूचनामा उल्लेख छ ।
आवेदन दिएकालाई असोज ७ सम्म सम्पर्क गर्न आग्रह गरिनेछ।तालिकाअनुसार असोज ९, ११, १२, १३ र १४ भित्र म्यादी प्रहरी छनोट प्रक्रिया पूरा गरिनेछ। असोज २५ मा नतिजा प्रकाशन गरिनेछ भने असोज २७ र २८ मा नियुक्तिपत्र वितरणको तयारी थालिनेछ। असोज ३० मा नियुक्तिपत्र वितरण गरिनेछ भने म्यादी प्रहरीको तालिम सुरु हुनेछ। कात्तिक ८ मा तालिम सम्पन्न गरी कात्तिक ९ मा युनिफर्ममा प्रहरीसँग डिउटीमा खटाइनेछ। चुनाव सम्पन्न भएपछि मंसिर ८ मा म्यादी प्रहरीलाई बिदा गरिनेछ।
निर्वाचनमा खटिने म्यादी प्रहरीले तलबरभत्ता, रासन, खाजाखर्च लगायतमा एकमुष्ट ५० हजार रुपैयाँभन्दा बढी रकम पाउने भएका छन् ।
निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि ‘म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ स्वीकृत गर्दै गृह मन्त्रालयले ४० दिनको कार्यअवधि तोकेर म्यादी प्रहरीलाई तलबरभत्ता, यातायात खर्च, खाजा, पोशाक, रासन लगायत शीर्षकमा प्रतिव्यक्ति एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ उपलव्ध गराउने भएको हो ।
केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिसकेको छ ।मापदण्डमा म्यादी प्रहरीले प्रहरी जवानको आधारभूत तलबमान अनुसार प्रतिव्यक्ति दैनिक ८ सय ६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७ सय ६०, रासन भत्ता बापत ७ हजार २ सय, पोशाक भत्तालाई ६ हजार, यातायात खर्चबापत एक पटकका लागि १ हजार र खाजा खर्चलाई दैनिक ३ सय रुपैयाँका दरले ४ दिनको १ हजार २ सय गरी एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ र हिमाली भेगमा खटिनेलाई ज्याकेट किन्न थप १ हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ ।
तोकिएको तलबमध्ये म्यादीमा नियुक्ति भएको ३० दिनपछि ५० प्रतिशत र बाँकी रकम अवकासमा जानुअघि भुक्तानी दिइने उल्लेख छ । त्यस्तै रासन बापत पाउने भत्ता नियुक्ति बुझेको १० दिनभित्र २० दिनको र बाँकी २० दिनको अवकासमा जानुअघि उपलब्ध गराइने मापदण्डमा उल्लेख छ । म्यादी प्रहरीका लागि अर्थ मन्त्रालयले ५ अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।























