images
images
  • जलजलाका पहिरोग्रस्त बस्तीको भौगर्भिक अध्ययन, ३१६ घरमा क्षति

    काठमाडौं – पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकाका पहिरोग्रस्त तथा जोखिममा रहेका बस्तीको भौगर्भिक अध्ययन सुरु गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएको भूगर्भविद्सहितको टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी थप जोखिमको अवस्था पहिचान गर्न थालेको हो ।

    भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको टोलीले मङ्गलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङ क्षेत्रका पहिरोको अध्ययन गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । उनका अनुसार बुधबार केराबारी, पुलचोक र भेडाबारी क्षेत्रको पनि अध्ययन गरिनेछ ।

    गाउँपालिकाको अनुरोध र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा प्राधिकरणले भूगर्भविद्को टोली पठाएको हो । विपद्बाट क्षति पुगेका बस्तीमा थप पहिरोको जोखिम पहिचान गरी सुरक्षित पुनर्निर्माणको आधार तयार गर्नु अध्ययनको मुख्य उद्देश्य रहेको उपाध्यक्ष आचार्यले बताए ।

    अध्ययनका क्रममा टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, ढुङ्गा तथा माटोका नमुना सङ्कलन, ड्रोन क्यामेराबाट तस्बिर तथा श्रव्यदृश्य सामग्री सङ्कलन र स्थानीय प्रभावितसँग छलफल गरेको छ । भौगर्भिक अध्ययन प्रतिवेदनले दिएका सुझावका आधारमा पुनर्निर्माण तथा पुनःस्थापनाका काम अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

    गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोले जलजलामा ठूलो क्षति पुर्‍याएको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्रारम्भिक विवरणमा ३१६ घरमा क्षति पुगेको छ । तीमध्ये १२६ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५० घरमा आंशिक क्षति पुगेको छ । थप १४० घर जोखिममा रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

    बाढीपहिरोले निजी आवासमा मात्र नभई कोदो, धानलगायत खाद्यबाली तथा सुन्तलाखेती भएको खेतीयोग्य जमिनमा समेत क्षति पुर्‍याएको छ। सडक, खानेपानी, सिँचाइ र बस्ती संरक्षणका लागि निर्माण गरिएका पूर्वाधारसमेत प्रभावित भएका छन् ।

    गाउँपालिकाका अनुसार सबैभन्दा बढी क्षति जलजला गाउँपालिका–८ को फर्सेमा भएको छ । त्यहाँ बाढीले ७५ घर बगाएको छ भने थप २७ घर जोखिममा छन्। फर्सेसँगै वडा नं ७ का ताङवाङ र खानीगाउँ तथा वडा नं ४ को लामाखेत पनि बाढीपहिरोबाट प्रभावित भएका छन् ।

    पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको अध्यक्ष आचार्यले बताए । अन्यत्र घर नभएका तथा आफैँ सुरक्षित बसोबासको व्यवस्था गर्न नसक्ने प्रभावितलाई अस्थायी शिविरमा राखिएको छ ।

    प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्री उपलब्ध गराउनेसँगै अल्पकालीन र दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ । भौगर्भिक अध्ययनबाट जोखिमयुक्त बस्तीको पहिचान भएपछि सुरक्षित स्थानमा पुनःस्थापना गर्ने तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने योजना बनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images