images
images
  • चितवनमा ६ लाखभन्दा बढीका पटाकासहित दुई भारतीय नागरिक पक्राउ

    काठमाडौं – प्रहरीले चितवनका विभिन्न स्थानबाट ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ८० हजार ३७२ थान विभिन्न प्रकारका पटाका र एक लाख ७२ हजार ३०० रुपैयाँ नगदसमेत बरामद गरेको छ ।

    पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका–६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थानका २९ वर्षीय कन्हैया कुमार रहेका छन्। कन्हैया भरतपुर महानगरपालिका–३ बाह्रघरेमा बस्दै आएका थिए ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार उनीहरूको साथबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायतका पटाका बरामद गरिएको हो ।

    प्रहरीले पक्राउ परेका दुवै जनामाथि विस्फोटक पदार्थको अवैध ओसारपसार तथा सञ्चयलगायत कसुरमा अनुसन्धान अघि बढाउने जनाएको छ। प्रहरी उपरीक्षक पौडेलले पटाकाजस्ता विस्फोटक पदार्थको कारोबार भइरहेको जानकारी पाए नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

    यसैबीच, चितवनमा दुर्लभ एकसिङ्गे गैँडाको अस्थिपञ्जर फेला परेको छ । राप्ती नगरपालिका–१ स्थित दमस्थानी मध्यवर्ती सामुदायिक वनमा झन्डै छ महिनाअघि मरेको अनुमान गरिएको गैँडाको अस्थिपञ्जर भेटिएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैँडाको खाग र खुरसहित अस्थिपञ्जर फेला परेको छ। खाग र खुर सुरक्षित अवस्थामा रहेकाले गैँडा चोरीसिकारीबाट नभई प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

    पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ६९४ वयस्क गैँडा रहेका छन्। देशभर भने गैँडाको सङ्ख्या ७५२ पुगेको छ। गैँडाको सङ्ख्या बढ्दै जाँदा प्राकृतिक कारणबाट हुने मृत्यु पनि संरक्षण क्षेत्रको चुनौतीका रूपमा देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images