images
images
  • दाङमा व्यावसायिक सयपत्री फूलखेती फस्टाउँदै, स्थानीय उत्पादनमै बढ्दो आकर्षण

    काठमाडौं – तिहार तथा दीपावलीलाई लक्षित गर्दै दाङमा व्यावसायिक सयपत्री फूलखेती गर्ने किसानको संख्या बढ्न थालेको छ। व्यक्तिगत प्रयासदेखि कृषि समूह, सहकारी र व्यावसायिक फार्मसम्मले फूलखेतीलाई आम्दानीको स्रोत बनाउँदै लगेका छन् ।

    कलाकारिता क्षेत्रमा स्थापित दाङको तुलसीपुरका प्रेम विवश घर्तीले पनि कृषि क्षेत्रमा जोडिने उद्देश्यले सयपत्री फूलखेती सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ स्थित जिनुवागाउँमा उनले अन्य चार जनासँगको साझेदारीमा सामूहिक रूपमा फूलखेती गरेका हुन् ।

    सङ्गीत पेसासँगै कृषि क्षेत्रमा पनि सक्रिय हुने सोचले सयपत्री खेती सुरु गरेको घर्तीले बताए। उनका अनुसार कलाकारितामा आबद्ध रहँदै कृषि उत्पादनमा समेत योगदान पुर्‍याउने उद्देश्यले यो प्रयास थालिएको हो ।

    सुगन्धित कृषि समूहमार्फत पाँच कट्ठा जग्गामा ‘कर्म ५५५’ जातको करिब दुई हजार ४०० सयपत्रीका बिरुवा रोपिएका छन् । मल्चिङ, कालो प्लास्टिक बिछ्याउने, विषादी प्रयोग, खेत खन्ने र क्यारी बनाउनेलगायतका काममा करिब एक लाख रुपैयाँ लगानी भएको समूहका संयोजक सुमन गिरीले बताए ।

    पाँच कट्ठा क्षेत्रफलबाट करिब १० क्विन्टल फूल उत्पादन हुने अपेक्षा गरिएको छ। तिहारअघि नै एक क्विन्टलभन्दा बढी फूलको अग्रिम अर्डर आइसकेको गिरीले जानकारी दिए। स्थानीयस्तरमा उत्पादन भएको फूल स्थानीय बजारमै खपत हुनुपर्छ भन्ने सन्देश दिन पनि खेती सुरु गरिएको उनको भनाइ छ ।

    सहकारी पनि फूलखेतीमा अग्रसर

    व्यक्तिगत तथा समूहगत प्रयाससँगै दाङका कृषि सहकारीहरू पनि व्यावसायिक सयपत्री खेतीमा आकर्षित भएका छन् । तुलसीपुर–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाले तुलसीपुरकै वनकट्टामा एक बिघा जग्गा पाँच वर्षका लागि भाडामा लिएर फूलखेती गरेको छ ।

    एक हजार २०० सदस्य रहेको सहकारीका सञ्चालक समिति सदस्य तथा कर्मचारी स्वयं खेतमा खटिएर फूलको स्याहारसुसार गरिरहेका छन् । सहकारीकी अध्यक्ष चित्रा धितालका अनुसार प्रतिकट्ठा वार्षिक दुई हजार रुपैयाँ भाडा तिर्ने गरी जग्गा लिइएको हो । बीउ, मल्चिङ र खेत जोताइलगायतका काममा सुरुआती चरणमा तीन लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।

    सहकारीले सयपत्री फूलखेतीबाट १२ देखि १६ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेको छ । फूल बिक्रीका लागि टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिएपछि विभिन्न ठाउँबाट माग आउन थालेको अध्यक्ष धितालले बताइन्।

    पहेँलो र सुन्तले सयपत्रीको उत्पादन

    तुलसीपुर–१५ स्थित पहरुवामा रहेको ‘ग्रिनसिटी बहुउद्देश्यीय कृषि, मत्स्य तथा पशुपन्छी फार्म’ले पनि व्यावसायिक रूपमा सयपत्री फूल उत्पादन तथा माला बिक्री सुरु गरेको छ ।

    फार्मका सञ्चालक आशिष बिसीका अनुसार आधुनिक कृषि प्रणाली र उचित स्याहारसुसारमार्फत आकर्षक पहेँलो तथा सुन्तले रङका ताजा फूल उत्पादन गरिएको छ । फार्मले थोक तथा खुद्रा दुवै मूल्यमा फूल र माला बिक्री गरिरहेको जनाएको छ ।

    तुलसीपुर क्षेत्रमा व्यक्तिगत किसान, कृषि समूह, सहकारी र व्यावसायिक फार्ममार्फत भइरहेको सयपत्री खेतीले स्थानीय बजारमा स्वदेशी फूलको उपलब्धता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके फूलका लागि बाह्य बजारमाथिको निर्भरता घटाउन सकिने र किसानले पनि आम्दानीको नयाँ अवसर पाउने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images