काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४ दशमलव ९ प्रतिशत भौतिक प्रगति हासिल भएको जनाएको छ । तर, सोही अवधिमा विनियोजित त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत मात्रै खर्च भएको छ ।
नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा पाँच अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिलो त्रैमासमा ६२ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकामा १४ करोड ७० लाख रुपैयाँ मात्रै खर्च भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार पहिलो त्रैमासमा दुई दशमलव ९ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास गरिएको छ । वित्तीय खर्चको तुलनामा भौतिक प्रगति बढी देखिएको उनले जानकारी दिए ।
यस अवधिमा केही आयोजनाले निर्धारित भौतिक लक्ष्यभन्दा बढी प्रगति हासिल गरेका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले त्रैमासिक भौतिक लक्ष्यको १६० दशमलव ८ प्रतिशत प्रगति गरेको छ । त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले जनाएको छ ।
क्षेत्रगत प्रगतिमा लमही ९दाङ० ले ८६ दशमलव ५ प्रतिशत, कञ्चनपुरले ८२ दशमलव ५ प्रतिशत र जनकपुर ९धनुषा० ले ८२ दशमलव ३ प्रतिशत भौतिक प्रगति गरेका छन् ।
नदी नियन्त्रण, तटबन्ध निर्माण तथा जल उत्पन्न विपद्बाट जोखिममा रहेका बस्ती र खेतीयोग्य जमिनको संरक्षण गर्ने उद्देश्यले महाशाखाले विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ। नदी कटान, बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्दै जोखिमयुक्त क्षेत्रको संरक्षण गर्नु यी कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।





















