images
images
  • उद्घाटन खेलमा सुदूरपश्चिमलाई हराउँदै ‘एनआरएनए’को विजयी सुरुवात

    काठमाडौं- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गरेको हो ।

    वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनायो । टियु क्रिकेट मैदानमा ४ वर्षपछि फर्किएका सागर पुन १९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४६ रनमा अविजित रहे । सागरले २०१८ पछि पहिलो पटक घरेलु क्रिकेट खेलेका हुन् ।

    कप्तान सुनाम गौतमले ११ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए । सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले दुई दुई विकेट लिए ।

    जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ ओभरमा ६ विकेट गुमाउँदै ६२ रन जोड्यो । ओपनर खडक बोहोराले १२, राजु रिजालले ११ तथा वसन्त खत्रीले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    आक्रामक सट खेल्ने धुनमा लगातार विकेट गुमाएपछि सुदूरपश्चिम पराजित भएको थियो । एनआरएनएका लागि आशिष पोखरेल र दीपक क्षेत्रीले ३-३ विकेट लिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images