काठमाडा– सहकारीमा बिग मर्जर सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानमा रहेका पाँचवटा सहकारीहरु आपसमा मर्ज भएका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुदेश्यीय सहकारी संस्था आपसमा मर्ज भएर ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था बनेका छन् ।
संस्थाको अध्यक्षमा ज्ञानबहादुर तामाङ र कार्यकारी प्रमुख कुयाङ लामा रहने जनाइएको छ ।
मर्जपछि संस्थाको कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्नेछ । संस्थाका अनुसार मर्जपछि संस्थाको बचत ४ अर्ब ६३ करोड ७० लाख ८ हजार ५९७ रुपैयाँ, ऋण लगानी ४ अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ रुपैयाँ रहने छ । त्यस्तै संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड १ लाख ७५ हजार १९६ रुपैयाँ पुग्ने छ ।
यसैगरी सहकारी संस्थाको सेयरपुँजी ३० करोड ८१ लाख २२ हजार ५ सय रुपैयाँ, सदस्य संख्या ३५ हजार २० जना पुग्नेछन् भने ऋणी सदस्य संख्या ६ हजार ८ सय ५८ जना पुग्ने संस्थाले जनाएको छ । संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार ९ सय ८२ रुपैयाँ र कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार ८ सय ९८ रुपैयाँ पुग्ने छ । संस्थाको तरलता रकम १ अर्ब १३ करोड ९८ लाख ८७ हजार ८१७ रुपैयाँ रहने संस्थाले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले जति ठूलो सहकारी उति धेरै सेवा पाउने सक्ने दाबी गरका छन् । उनले नगरपालिकाभित्रका वित्तिय सहकारी कारोबार गर्ने सहकारीको दर्ता बन्द गर्नुपर्ने धारणा राखे । उनले अन्य संस्थाहरुले पनि एकीकरण अभियानलाई निरन्तरता दिनुपर्ने, संचालकहरुले पनि सदस्यको पैसामा रजाई नगरी सदस्यहरुको हितमा काम गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारीहरुमा बचत फिर्ताको समस्या नआएको दाबी गर्दै बैंक तथा वित्तिय संस्थाले अपवाह फैलाएको धारणा राखे । सहकारीहरु टोलटोलमा गएका कारण बचत जति सहकारीमा जान लागेकाले बैंक तथा वित्तिय संस्थाले कृतिम अभाव देखाएर अपवाह फैलाएको उप्रेतीको दाबी छ ।
नेपालभर रहेका सहकारी संस्थाहरुमध्ये १ प्रतिशत भन्दा कम सहकारीमा मात्र समस्या रहेको दाबी गर्दै वित्तिय व्यवस्थापन नजाने र ऐन नियमनको कार्यान्वयन गर्न नसकेका कारण त्यस्ता संस्थाहरुमा समस्या देखिएको उल्लेख गरेका छन् ।
बाग्मती प्रदेशका रजिष्ट्रार नारायण ज्ञवालीले सहकारी अभियानमा विचौलिया घुसपैठ हुदाँ समस्यामा आएको बताउँदै एकतावद्ध भएर यो समस्याको डटेर समाधान गर्न आग्रह गरेका छन् । उनले कतिपय सहकारीहरुले कार्यक्षेत बढाउने, सेवा केन्द्र बढाउने मात्र उद्देश्यका साथ मर्ज गर्ने गरेको भन्दै शनिबार भएको पाँच वटा सहकारीको एकीकरण भने गुणस्तरीय सहकारी अभियान निर्माणका लागि भएको देखिएको दाबी गरेका छन् । उनले यो एकीकरणबाट अन्य सहकारी संघसंस्थाहरुले पनि सिक्न जरुरी रहेको बताए ।
कार्यक्रममा मर्जपछि बन्ने ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी कुयाङ लामाले सहकारीप्रति सदस्यहरुको विश्वासलाई कायम राख्दै थप सवल तथा बलियो संस्था बनाउनका लागि सदस्यहरुको अनुमतिमा मर्ज गर्ने निर्णय गरेको बताए ।


विश्व खबर 



















