images
images
  • कृषि विकास बैंकको ४ करोड ठगी, दुईजना दोषी ठहर

    काठमाडौं- कृषि विकास बैंकको ४ करोडभन्दा बढी रकम गैरकानुनी ढंगले दुरुपयोग गरेको मुद्दामा विशेष अदालतले दुईजनालाई दोषी ठहर गरेको छ । मंगलबार विशेषका सदस्यत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले मुद्दा दर्ता भएको झन्डै तीन वर्षपछि यस्तो फैसला सुनाएको हो ।

    विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार बैंकको न्युरोड शाखाकी तत्कालीन टेलर सहायक दीपिका रेग्मी र अवकाशप्राप्त सहायक रथी रमेशराज विष्टलाई दोषी ठहर गरिएको छ । ‘उनीहरूलाई १५ दिनभित्र सजाय निर्धारण गरिनेछ ।

    रेग्मीले अपचलन गरेको ठहर भएको छ भने विष्टलाई मतियारका रूपमा उक्त अनियमिततामा सहयोग गरेको अभियोग पुष्टि भएको छ,’ योगीले भने । यो मुद्दाका अन्य ६ प्रतिवादीले सफाइ पाएका छन् । योगीका अनुसार अब सजाय निर्धारणका लागि वादी र प्रतिवादीका कानुन व्यवसायीबाट प्रतिवेदन माग गरिएको छ । अबको १५ दिनभित्र उक्त प्रतिवेदन पेस भएपछि उनीहरू दुवैलाई सजाय तोकिनेछ ।

    फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १२ मा तीन वर्षभन्दा बढी कैद वा ३० हजार रुपैयाँभन्दा बढी जरिवाना हुन सक्ने कसुरका सम्बन्धमा सजाय निर्धारण गर्नुअघि अदालतले आवश्यक ठानेमा सजायपूर्वको प्रतिवेदन तयार गर्न आदेश दिन सक्ने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images