काठमाडौँ- आइसिसी टी-२० विश्वकप २०२२ अघि भइरहेको ‘ट्रफी टुर’ का दौरान नेपालमा पनि विश्वकपको ट्रफी आइपुग्दैछ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार ट्रफी आगामी भदौ १४ गते नेपाल आइपुग्नेछ। १५ गतेसम्म नेपालमा हुने ट्रफीलाई सगरमाथाको वेस क्याम्पमा पुर्याइने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।
क्यानले ट्रफीलाई सगरमाथाको वेस क्याम्पनबाहेक भक्तपुर दरबार क्षेत्र र जनकपुरधाममा लैजाने योजना बनाएको छ। ट्रफी टुरका दौरान निश्चित फ्यानहरूलाई फोटो खिच्ने अवसर दिइनेछ।
नेपालमा टी-२० विश्वकपको ट्रफी पहिलो पटक ल्याउन लागिएको हो। यसअघि २०१८ मा एक दिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइएको थियो। ट्रफी नेपालबाट सिंगापुर लगिनेछ। आइसिसीले गत असार १४ गते ट्रफी टुर सुरु गरेको थियो।
ट्रफी टुर विभिन्न १३ देशका ३५ स्थानमा गरिनेछ। नेपालसहित, फिँजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआटुमा पहिलो पटक टी-२० विश्वकपको ट्रफी पुग्न लागेको हो।
आइसिसी टी-२० विश्वकप २०२२ सुरु हुन दुई महिना भन्दा कम सयम छ। अस्ट्रेलियाको सात सहरमा हुने प्रतियोगिता आगामी १६ अक्टोबरमा सुरु हुनेछ।


विश्व खबर 


















