काठमाडौं– सहकारी संस्थाहरुले अब घरजग्गामा लगानी नगर्न सहकारी विभागले निर्देशन दिएको छ । संस्थाहरुमा आर्थिक हिनामिन हुन थालेपछि विभागले यस्तो निर्देशन दिएको हो । विभागले तत्काल प्रतिफल आउने साना व्यवसायमा लगानी गर्न निर्देशन दिएको हो ।
घरजग्गामा वाणिज्य, विकास र फाइनान्स कम्पनीले मात्र ऋण लगानी गर्न पाउने व्यवस्था छ । यस्तै, कर्जा लगानी गर्दा दीर्घकालिन स्रोत पनि सुनिश्चितता र ऋण असुली प्रकृयालाई प्राथमिकता दिएर कार्ययोजना बनाई लागू गर्नुपर्ने जनाइएको छ । साथै, कर्जा प्रवाह गर्दा संस्थाको सञ्चालक समितिको बैठकको निर्णयबाट मात्रै गर्नुपर्ने हुन्छ ।
पछिल्लो समय सहकारी संस्थाहरुले आफ्नो उद्देश्य विपरित विभिन्न क्षेत्रमा लगानी गर्दा बचतकर्ताको साँवासमेत डुब्न सक्ने अवस्था सिर्जना भएको छ । सहकारी संघहरुले पनि बैंकहरुले जस्तै मासिक रूपमा वित्तीय विवरण सार्वजनिक रूपमा सूचना निकाली जानकारी गराउनुपर्ने भएको छ ।
नेपालमा घरजग्गा क्षेत्रमा सहकारी संस्थाहरुबाट पनि ऋण प्रवाह भइरहेको छ । खासगरी, प्रणालीभन्दा बाहिर भएको रकम सहकारीमार्फत घरजग्गामा लगानी हुँदै आइरहेको वित्तीय क्षेत्रका जानकार बताउँछन् ।


विश्व खबर 



















