पर्सा- नेपाल राष्ट्रिय मावि, बहुदरमाई नगरपालिका पर्सामा भ्रष्टाचारले सीमा नै नाघेपछि त्यसलाई नियन्त्रण गर्न शिक्षक रविभूषण रामलाई प्रधानाध्यापक बनाएर ल्याइयो । उनलाई प्रधानाध्यापक बनाएपछि भ्रष्टाचार गर्ने समूहको जालो नै तोडिने अवस्था आयो । रामको नियुक्ति संगठित रुपमा भ्रष्टाचार गरी बाँडीचुडी खाएको समूहलाई असैह्य बन्यो ।
यसैबीच प्रधानाध्यापक राम मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भए । उनको उपचार गरिरहेको अवस्थामा निमित्त प्रधानाध्यापक अजयकुमार यादवलाई शिक्षा नियमावली बिपरित दुर्घटनामा सख्त घाइते भएको अवस्थामा बहुदरमाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र यादवको सिफारिसमा निमित्त प्रधानाध्यापकमा नियुक्ति गरियो ।
यसरी दुर्घटना भएको समयमा मानवीय समवेदनालाई समेत सामान्य ख्यालै नगरी सहयोग गर्नुका सट्टा उल्टै प्रधानाध्यापकबाट हटाइएको थियो । जुन शिक्षा नियमावलीमा कहीँ कतै त्यस्तोे व्यवस्था गरिएको छैन । रविभूषण राम प्रधानाध्यापक भएर आएपछि माध्यामिक दरबन्दीका शिक्षकहरुले पनि ११-१२ पढाउनुपर्छ र उच्च माबिका दरबन्दीहरुले पनि माध्यामिक तहमा गएर पढाउनुपर्छ भन्दै थप शिक्षक राखेर पढाउन सकिन्न भन्ने निर्णय गराए । त्यसपछि भ्रष्टाचार गर्न नपाएर छट्पटी भएकाहरुले अजय यादवलाई बलिको बोका बनाएर शिक्षकहरुले रकम हिनामिना गर्ने तानाबाना बुन्न लागे ।
रविभूषण राम प्रधानाध्यापक भएर आएपछि रकम हिनामिना गर्नेहरु विरुद्धमा नियन्त्रणका लागि कडा भएर उत्रिएका थिए । रौतहटमा जन्मेका अजयकुमार यादव जनता समाजवादी पार्टी (जसपा)का सक्रिय सदस्य हुन् । त्यही कारण वडादेखि नगर, प्रदेश, वनमन्त्री प्रदीप यादवसम्म पहुँच बनाएका छन् । यसरी जसपा पार्टीबाट वनमन्त्री बनेका प्रदिप यादव र चार जना शिक्षकलाई पछाडि राखेर यादव प्रधानाध्यापकमा नियुक्ति भएको स्रोतको दाबी छ ।
शैक्षिक सामग्री खरिदमा भ्रष्टाचार
विज्ञान विषयमा आवश्यक शैक्षिक सामग्री खरिदका लागि प्रदेश सरकारबाट प्राप्त ६ लाख ५० हजार रुपैयाँमा २५ हजारको मात्रै शैक्षिक सामग्री खरिद गरी बाँकी २ लाख पचास हजार रुपैया नगरपालिकाका शिक्षा शाखा प्रमुख बिदुर उप्रेतीलाई घुस दिइएको, दुई लाख रुपैयाँ शिक्षकलाई दामासाहीले बाडेको, ५० हजार स्कूलका आफ्नो समर्थन गर्ने शिक्षकहरुलाई भोज ख्वाइएको थियो । यसरी बाँकी रकम अजय यादव आफैंले हिनामिना गरेका थिए । उक्त कुरा यादवले स्कूलको स्टाफ बैठकमा बुझबुझारथ गर्दा नै बताएका थिए ।
निमित्त प्रअ बनेपछि यादवले देखे कमाउने नयाँ श्रोत
तत्कालीन प्रधानाध्यापक सुधाकर उपाध्यायले बिभिन्न शीर्षकमा भ्रष्टाचार गरेको समाचार प्रकाशन गरेपछि त्यसैको आधारमा उनलाई वीरगञ्जको रामनगर माविमा सरुवा गरिएको थियो । त्यसपछि रामनगर माविकै प्रधानाध्यापक रविभूषण राम नेपाल राष्ट्रिय माविको प्रधानाध्यापक बनेका थिए । जब निमित्त प्रधानाध्यापक यादव निमित्त प्रधानाध्यापकबाट बाहिरिन पुगे उनलाई कमाउ धन्दाको मात छाड्न सकेनन् । जसका कारण रविभूषण रामलाई लामो समय हाजिर गर्न नदिएर विद्यार्थीहरुलाई आन्दोलनमा उतारियो ।
प्रधानाध्यापक बन्नका लागि रविभूषण राम नगरप्रमुख नितेन्द्र साह तेलीलाई १५ लाख घुस दिएर सरुवा भएको भन्ने अफवाह अजय यादवले फैलाएका थिए । त्यसैकारण लामो समय विद्यालयमा पठनपाठन नै बन्द भयो । त्यसपछि पर्साका प्रमुख जिल्ला अधिकारीले नै हस्तक्षेप गरी विद्यार्थीले तोडफोड गरिएका समानको जिम्मेवारी लिन अजय यादवलाई एक रात हिरासतमा राख्न आदेश दिएका थिए ।
हिरासतमा परेका अजय यादवलाई जसपाका नेता हालका वनमन्त्री प्रदीप यादवले हिरासतबाट छुटाउन जमानी बसेका थिए । सीडीओ कार्यालयमा भएको सहमति अनुसारै रवि भूषण रामलाई नै प्रधानाध्यापक बनाउने निर्णय भएको थियो ।
विद्यार्थी संख्या बढी देखाएर ब्रम्हलुट !
नेपाल राष्ट्रिय माविमा विद्यार्थीहरुलाई किताव खरिद गरी बाँड्नका लागि दुई हजार पाँच सय विद्यार्थीको विवरण देखाएर ७ लाख रुपैयाँ लिइएको थियो । तर, २ सय ५० जना विद्यार्थीलाई मात्रै किताव बाँडियो । बाँकी रकम प्रधानाध्यापक र लेखापालको मिलेमतोमा अनियमितता गरिएको आरोप छ ।
दिवाखाजामा भ्रष्टाचार
विद्यालयमा दिवाखाजाका लागि प्रति विद्यार्थी दैनिक १५ रुपैयाँका दरले भुक्तानी गरिन्छ । तर, कोरोनामा समयमा विद्यालय बन्द भएको अवस्थामा पनि सात लाख खाजाका लागि रकम प्राप्त भएकोमा दुई लाख मात्रै खर्च गरिएको छ । बाँकी रकम मिलेमतोमै सकिएको छ ।
कोरोना नियन्त्रणका लागि आएको रकममा पनि अनियमितता
कोभिड–१९ को रोकथामका लागि विद्यालयमा आएको रकम रु. पाँच लाख रकममध्ये एक लाख मात्रै खर्च गरिएको थियो । यसरी विद्यालयका लागि खरिद गरिएका स्वास्थ्य सामग्रीहरु कतिपय शिक्षकहरुले आफ्नो घरमा समेत लगेर दुरुपयोग गरेका थिए भने कतिपयले नजिकका क्लिनिकमा लगेर बेच्ने गर्दथे ।
वडाध्यक्षले नै कुल्चिए शिक्षा नियमावली
बहुदरमाई नगरपालिका–४ का वडाअध्यक्ष सुरेन्द्र यादवले शिक्षा नियमावली बिपरीत विद्यालयका प्रधानाध्यापक रबिभुषण राम दुर्घटनामा घाइते भएर अस्पताल बसेको मौका छोपेर आफ्नै अध्यक्षतामा बैठक बसी निर्णय अजय यादवलाई प्रधानाध्यापक नियुक्ति सिफारिस गर्ने निर्णय गरे । यसरी वडाध्यक्ष यादवले निमित्त प्रधानाध्यापक अजय यादवलाई प्रधानाध्यापकका लागि सिफारिस गरेका थिए । त्यही सिफारिसका आधारमा नगरपालिकाबाट उनलाई प्रधानाध्यापक पदमा नियुक्ति गरिएको थियो । जुन शिक्षा नियमावलीमा नगरप्रमुखलाई पनि प्रधानाध्यापक नियुक्ति गर्ने अधिकार छैन । सुरेन्द्र यादव नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा विजयी भएका हुन् । तथापि उनले गम्भीर गल्ती गरेको एक जनप्रतिनिधिले बताए ।
छात्रवृत्ति रकममा पनि भ्रष्टाचार
विद्यार्थीका निमित्त प्राप्त छात्रवृत्तिको रकम विद्यालयले ३ लाख रुपैयाँ बुझेको थियो । त्यसमा १ लाख रुपैयाँको छात्रवृत्ति बाँडियो । २ लाख रुपैयाँ शिक्षकहरुका लागि कोट, पाइन्ट र दारुको भोज गरी फच्चे गरिएको थियो । बहुदरमाई नगरपालिका ४ का वडाध्यक्षको समेत मिलोमतोमा शिक्षक सरुवा, बढुवा, नियुक्ति र थमौती गर्ने काम गरिँदै आएको छ । यसरी कसलाई प्रधानाध्यापक बनाउने भन्ने विषयमा वडाध्यक्षले हस्तक्षेप गर्ने गरेका छन् । वडाध्यक्षले कसलाई प्रधानाध्यापक बनाउने भन्ने बिषयमा आफै उपस्थित भएर बैठक बोलाएर माइन्यूट तयार गरेका थिए । यसरी वडाकै सिफारिसमा अजय यादवलाई प्रधानाध्यापक बनाइएको हो ।
विद्यालयमा एउटा प्रधानाध्यापक हुँदाहुँदै पनि अर्को प्रधानाध्यापक राख्न दिएर बिद्यालयको आर्थिक कोष चलाउनु भनेको सरासर गलत भएको छ ! बिद्यालय व्यवस्थापन समिति हालसम्म पनि गठन नगर्नुको कारण यही नै थियो । विद्यालयमा प्रधानाध्यापक र लेखापाल मिलेर भ्रष्टाचार गर्ने गरेको खुलासा भएको छ ।
पुस्तकालयका लागि आएको रकम समेत हिनामिना
विद्यालयमा पुस्तकालय राख्नका लागि आएको १० लाख रुपैयाँमध्ये ५० हजारको पुस्तक किनिएको छ । पुस्तकालयका लागि आएको १० लाखमा २ लाख रुपैयाँ शिक्षा शाखाका प्रमुखलाई नै घुस बापत दिइएको स्रोतको दाबी छ । नगरपालिकालाई २ लाख, १ लाखको दराज, ५० हजार रुपैयाँको किताब खरिद गरियो । २० हजारको भोज र बाँकी रकम लेखापाल र प्रधानाध्यापक मिलेर बाँडीचुडी खाएको आरोप छ । अहिले विद्यालयको पुस्तकालय नाममात्रको छ ।
हाजिर नगरी तलब बुझ्छन् शिक्षकहरु
बैशाखदेखि उच्च मावि राहतका शिक्षकद्वय नगिना शाह कानु र रामकिशोर यादवले हाजिर नै नगरि तलब बुझेका छन् । नेपाली कांग्रेस निकट शिक्षक संघका सदस्यसमेत रहेका शिवचन्द्र पटेलले हाजिर गरे पनि कक्षा कोठामा पढाउन नगई तलव बुझ्दैआएका छन् । राजेश ठाकुर आधारभूत विद्यालयका शिक्षक भए पनि उनले माध्यमिक कक्षामा पढाउने गरेका छन् ।
भगतप्रसाद यादव, मोतिलालप्रसाद यादब बिद्यालयमा गयल भए पनि अजय यादवका समर्थक भएका कारण उनको हाजिरकपीमा कहिल्यै पनि रातो लागेको छैन । उनीहरुले अजय यादवलाई भागशान्ति रकम खानका लागि सहयोग पु¥याएका छन् । शिवचन्द्र पटेलले रबिभूषण रामलाई हटाउनुपर्छ भन्दै पुरानो दुश्मनीका कारण खुलेर लागेका छन् । उनका बाबु र रविभूषण रामबीच मुद्दा नै परेको थियो । जुन मुद्दामा रविले जितेका थिए । अजय यादवका समर्थकहरुले बिदा लिएर बसे पनि बिदा लेखिएको छैन । विद्यालयमा आएर नपढाए पनि बिदा भनेर लेखिंदैन ।
अनावश्यक खरिद, २ लाखको सामग्रीको बिल ५ लाख
विद्यालयमा अजय यादब प्रधानाध्यापक बनेपछि शिक्षकको लागि दराज, बोर्ड प्रोजक्टर, बिद्यालयका लागि टेबुल कुर्सी खरिद गरिएको छ । जसको बिल ५ लाख रुपैयाँको बनाइएको छ । तर, प्रचलित बजारभाउ भन्दा दोब्बर भन्दा बढीको बिल बनाएर भुक्तानी गरिएको छ । २ लाख रुपैयाँ भन्दा कमका सामान खरिद गरी भुक्तानी ५ लाखको गरिएको छ । शिक्षकका लागि खरिद गरिएका दराज पनि अजय यादवको समर्थन गर्ने शिक्षकहरुलाई मात्रै प्रयोग गर्न दिइएको छ । अन्य शिक्षकहरुलाई दराज पनि छैन ।
यसअघि बिद्यालयमा पढ्न नआउने तर छात्रवृत्तिको रकम चाहिँ बुझ्न आउने, छात्रवृत्तिको रकम बाँडेर १८ जना शिक्षकलाई कोट, पाइन्ट, र सर्ट सिलाइएको थियो । साथै २० हजारको मदिरासहितको भोज खाएर पनि १ लाख बचेको थियो । अहिले न त भोज न त शिक्षकलाई कोट सबै रकम प्रधानाध्यापक अजय यादवले अनियमितता गरेको एक शिक्षकले गुनासो गरेका छन् ।
लेखापालको अकुत सम्पत्ति
बिद्यालयका लेखापाल शैलेशकुमार रौनियारले अहिले करोडौं रुपैयाँको बंगला बीरगंज बजारमा खरिद गरेका छन् । उनको अन्य आम्दानीको स्रोत कहीँ कतै पनि छैन । उनका भाइलाई केही वर्षअघि मात्रै कास्की जिल्लामा घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।
राहत कोटाका शिक्षक नै बुझ्छन् सबैभन्दा बढी तलब
डायरी एक्सप्रेस साप्ताहिकमा लेखिएको समाचार अनुसार नेपाल राष्ट्रिय माविमा ११-१२ जना विद्यार्थी पढाउनका लागि दुई जना शिक्षक राहत कोटामा छन् । उनीहरु दुबै जनाले सबै भन्दा बढी तलब भत्ता बुझ्ने गरेका छन् । ११-१२ का विद्यार्थीबाट भर्ना शुल्क र मासिक शुल्क पनि उनीहरु दूई जनाले नै बुझ्ने गरेका छन् । परीक्षा शुल्क पनि उनैले बुझेका छन् । साथै त्यही ठाउँमा कक्षा संचालन गर्न भनेर राखेको जग्गाको भाडा पनि बुझेका छन् । बेला बेलामा शिक्षकलाई तलब दिएकोे भनेर भ्रष्टाचार गरेको २-४ लाख रुपैयाँ रकम पनि वर्षेनी बुझेका थिए । तर, रबिभूषण राम प्रधानाध्यापक बनेपछि यी सबै स्रोत सुकेको थियो । त्यसै कारण उनीहरु बढी रुष्ट भएर उनलाई हटाउन लागेको एक शिक्षकले बताए ।
नगरपालिकामा बिदुरको रजाई
नगरपालिकाका स्वास्थ्य अधिकृत बिदुर उप्रेतीले शिक्षा शाखाको प्रमुख भएर चलाएका छन् । नगरपालिकाभित्र २२ वटा विद्यालय छन् । उनले नगरपालिकामै बसेर वीरगञ्जमा बिशाल महल र हालै एउटा पार्टी प्यालेसमा पनि लगानी गरेको नगरपालिका स्रोतले बतायो । उनले पत्र नलेखेका कारण नेपाल राष्ट्रिय माबिका प्रधानाध्यापक रविभूषण रामको चार वर्षको झण्डै १८ लाख रुपैयाँ तलब रोकिएको छ । यसका लागि लागि उप्रेतीले तीन लाख घुस मागेको आरोप छ । -नेपाल फेसबाट


विश्व खबर 




















