काठमाडौँ- फोहोर बोकेर बन्चरेडाँडा गएका गाडीलाई अवरोध गर्न खोज्ने स्थानीयलाई प्रहरीले हटाएको छ ।
पक्राउ परेका स्थानीयलाई छाड्नुपर्ने भन्दै उनीहरूले बिहीबार बिहान केहीबेर गाडी रोकेका थिए । प्रहरी परिचालन गरेपछि उनीहरू पछि हटेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
पार्किङ गरेर राखिएको फोहोर बोकेका गाडीसहित अन्य सवारीसाधन तोडफोड गरेको भन्दै प्रहरीले धुनिबेंसी-१ का दीपेश कार्कीलाई पक्राउ गरेको थियो । उनको रिहाइको माग गर्दै स्थानीयले आन्दोलन गरेका हुन् । प्रवक्ता मानन्धरले कानुनी प्रक्रिया पूरा भएपछि मात्रै आरोपित रिहाइ हुने बताए ।
प्रहरीले स्थानीयलाई हटाएपछि शान्तिपूर्ण रुपमा बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भइरहेको मानन्धरले जानकारी दिए । महानगरपालिकाका इन्जिनियर सरकारदिप श्रेष्ठले अन्य दिनको तुलनामा धेरै गाडीहरुले फोहोर विसर्जन गरेको बताए ।


विश्व खबर 




















