काठमाडौं- वैदेशिक रोजगार बोर्डले चार वर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तीन हजार ४९ श्रमिकको शव घाटसम्म ढुवानी गरेको छ। विमानस्थलबाट सम्बन्धित श्रमिकको घर वा घाटसम्म निःशुल्क ढुवानी गरिदिएको बोर्डले जनाएको छ।
निःशुल्क शव ढुवानी सेवाका लागि कुल ७ करोड ४२ लाख खर्च भएको बोर्डले जनाएको छ।
त्यस्तै, पछिल्लो चार वर्षको अवधिमा बोर्डले चार हजार १५४ मृतकका हकवालालाई आर्थिक सहायता प्रदान गरेको छ। आर्थिक सहायताबापत कुल दुई अर्ब ४१ करोड ९० लाख १५ हजार रुपैयाँ भुक्तानी गरेको छ।
यो अवधिमा अलपत्र पाँच सय ५५ शव विदेशबाट झिकाइएको बोर्डले जनाएको छ। पाँच सय ३३ पुरुष र २२ महिलाको अलपत्र शव झिकाउन तीन करोड ९७ लाख खर्च भएको छ।
अंगभंग भएका तथा गम्भिर बिरामी नौ सय ७६ लाई क्षतिपूर्ति बापत ३१ करोड नौ लाख १० हजार प्रदान गरिएको बोर्डले जनााएको छ।
चार वर्षको अवधिमा एक हजार पाँच सय ५४ जना बेपत्ताको खोजतलास गरी उद्धार गरिएको बोर्डको भनाइ छ। यसका लागि बोर्डले दुई करोड ८१ लाख ४५ हजार खर्च गरेको छ।























