
काठमाडौं- विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । प्रहरी अनुसन्धानपछि श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश भएको थियो। न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले श्रेष्ठलाई थुनामा पठाएको हो।
उक्त कारोबार गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठविरुद्ध रु ४८ करोड बढी बिगो माग दाबीसहित मुद्दा दायर भएको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असार २९ गते श्रेष्ठलाई काठमाडौँबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा श्रेष्ठले हुण्डीमार्फत विदेशमा रकम पठाएको पत्ता लागेको थियो । असार २९ गते श्रेष्ठलाई काठमाडौंको पानीपोखरीस्थित घरबाट पक्राउ गरेको थियो। अमित केही वर्षदेखि धेरैजसो क्यानडामा बस्दै आएका थिए। करिब डेढ महिनाअघि मात्र उनी नेपाल आएका थिए।
श्रेष्ठको साथबाट बरामद भएका मोबाइल र ल्यापटप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको थियो। परीक्षणमा श्रेष्ठको कमनवेल्थ बैंक अष्ट्रेलियामा डलर खाता रहेको खुलेको थियो। उक्त खातामा एक लाख ९४ हजार २८५ डलर रहेको पाइएको थियो।
साथै रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार ४२१ डलर बराबर कारोबार भएको अनुसन्धानमा देखिएको छ। यस्तै रोयल बैंकबाटै सेयर कारोबार भएको समेत अनुसन्धानमा खुलेको छ।
यस्तै एभरेष्ट बैंकको खातामा दुई करोड ६ लाख ६ हजार ६९२ र एनआइसी एसियामा ६५ लाख २४ हजार ९१० रुपैयाँ गरी विभिन्न कम्पनीको सेयर लगानी रहेको पनि अनुसन्धानमा भेटिएको छ।यस्तै नबिल बैंकमा ६५ लाख रुपैयाँ र ६७ हजार ५९६ अमेरिकी डलर समेत भेटिएको छ।कलंकी, लाजिम्पाट र पानीपोखरीमा अपार्टमेन्ट गरी चार लाख ३९ हजार १९ डलर बराबरको सम्पत्ति रहेको पनि अनुसन्धानबाट खुलेको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको उल्लेख गर्दै श्रेष्ठविरुद्ध बिगोको तीन गुणसम्म जरिवाना र सात वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्णरूपमा गैरकानुनी रहेको उल्लेख गर्र्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो ।
श्रेष्ठले अब एक तह माथिल्लो अदालतमा आदेशउपर निवेदन दिन भने पाउनेछन्। अमित श्रेष्ठलाई सशस्त्र प्रहरी बलले एकजना निजी सुरक्षा अधिकृत (पीएसओ) नै उपलब्ध गराएको थियो । सुरक्षा निकाय, कर्मचारी संयन्त्रदेखि राजनीतिक वृत्तसम्ममा उनको राम्रै पहुँच थियो ।
व्यवसायी श्रेष्ठको पानीपोखरीस्थित घरमा २९ असारमा उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरको टोलीले छापा मार्यो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार उनले नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार गरेको आशंकामा सर्च अपरेशन चलाइएको थियो ।
प्रहरी गरेको तीन साता लामो अनुसन्धानबाट उनले क्रिप्टोकरेन्सी कारोबार गरेको विवरणहरु त फेला परेन, तर विदेशमा अवैध लगानी गरेको भेटिएको छ । उनको विदेशका विभिन्न बैंकमा शंकास्पद रकम रहेको पनि खुलेको एसएसपी भट्टराई बताउँछन् ।
अनुसन्धानका क्रममा श्रेष्ठको ४८ करोड चार लाख ७२ हजार रुपैयाँभन्दा बढी रकम शंकास्पद रुपमा विदेश पुगेको पाइएको छ । पानीपोखरीस्थित श्रेष्ठको घरमा छापा हानेर उनको दुई वटा ल्यापटप र तीनवटा मोबाइल बरामद गरिएको थियो । त्यसमार्फत श्रेष्ठले क्रिप्टोकरेन्सीको कारोबार गरेको आशंका थियो । उनले इजाजतविना विदेशी विनिमय कारोबार, हुण्डी गरेर विदेशमा कम्पनी सञ्चालन र शेयर कारोबार गर्ने गरेको पाइएको प्रहरीको निष्कर्ष छ ।
धरौटीमा रिहा आदेश
भर्चुअल मुद्रा -क्रिप्टो करेन्सी०को कारोबार गरेको आरोपमा पक्राउ परेका विश्वराम श्रेष्ठलाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । काभ्रेको मण्डनदेउपुर गाउँपालिका–७ घर भएका विश्वराम श्रेष्ठ जिल्ला अदालतले मागेको ६ लाख धरौटी बुझाएर छुटेका हुन् । साउन १ मा जिल्ला प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट श्रेष्ठले क्रिप्टो करेन्सी तथा विदेशी मुद्राको कारोबार गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । क्रिप्टोलाई माध्यम बनाएर श्रेष्ठले हुण्डीको कारोबार गर्ने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्