
काठमाडौँ- निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षामा म्यादी प्रहरीको सट्टा पूर्व सुरक्षाकर्मी र राष्ट्रिय सेवा दललाई प्रयोग गर्न सरकारलाई सुझाव दिएको छ ।
आइतबार आयोगले विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले यसबारे सरकारलाई सुझाव दिएको बताए ।
उनले खर्च कम गर्ने हिसाबले र सुरक्षाका हिसाबले पूर्व सुरक्षाकर्मीको प्रयोग व्यवहारिक हुने बताउँदै निर्वाचनमा आयोगको सोचाई पूर्व सुरक्षाकर्मी परिचालन गर्न पाए हुन्थ्यो भन्ने रहेको उल्लेख गरे ।
छलफलका क्रममा केही सम्पादकहरूले राखेको सो सम्बन्धी प्रस्तावमाथि आयोगले यसअघि नै छलफल गरी सरकारलाई सुझाव दिएको उल्लेख गरे । उनले पूर्व सुरक्षाकर्मी तथा जनसेवा दलको प्रयोग गर्दा नयाँ ड्रेस खरिद गर्ने रकम बचत हुने बताउँदै सुरक्षा कार्य पनि प्रभावकारी हुने बताए ।
प्रमुख आयुक्त थपलियाले भने– ‘निर्वाचन सुरक्षामा सेवा निवृत्त सुरक्षाकर्मीलाई लगाऊँ । जुन पदबाट सेवा निवृत्त भएको छ, सोही पद अनुसारको तलब सुविधा दिऊ । हिजो सुरक्षाकर्मीको ड्रेस त पक्कै थियो त्यही ड्रेस लगाएर आउनु भनेर यो ड्रेसको खर्च पनि घटाऔँ । भर्खर किनेको नयाँ कडा आइरन लगाएको १५ दिनअघि सिलाएको लुगा लगाउनुपर्नेछ भन्ने त छैन । सुरक्षाकर्मी छ भनेर ड्रेसले चिनाउने न त हो । यो भयो भने खर्च पनि घट्छ, तालिमप्राप्त जनशक्ति पनि हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्