images
images
  • पाँच फार्मबाट च्याउखेती, वार्षिक दुई लाख आम्दानी गर्दै पार्वती

    काठमाडौं – श्रीमान् गुमाएपछि परिवारको आर्थिक जिम्मेवारी आफैँले सम्हाल्नुपर्ने अवस्था आयो। अरूसँग पैसा माग्नुपर्ने बाध्यताले आत्मनिर्भर बन्ने सोच जन्मायो । त्यही सोचलाई कर्ममा बदल्दै भीमदत्त नगरपालिका–६ वनगाउँकी पार्वती थापाले व्यावसायिक च्याउखेतीबाट आफ्नो जीवनको बाटो बदलेकी छिन् ।

    विसं २०६९ मा श्रीमान् गुमाएपछि आत्मनिर्भर बन्ने उद्देश्यले च्याउखेती सुरु गर्नुभएकी थापा अहिले पाँचवटा फार्म सञ्चालन गर्दै वर्षभरि उत्पादनमा सक्रिय हुनुहुन्छ। सामान्य जानकारीका आधारमा सुरु भएको उहाँको व्यवसाय अहिले परिवारको आम्दानीको भरपर्दो स्रोत बनेको छ ।

    “श्रीमान् बितेपछि केही गर्न पनि अरूसँग पैसा माग्नुपर्ने अवस्था आयो। अरूले पैसा छैन भन्दा नराम्रो लाग्थ्यो,” विगत सम्झँदै उनले भने, “अरूलाई पैसा माग्नुभन्दा आफैँ केही गरेर आत्मनिर्भर बन्ने सोच आयो।”

    आत्मनिर्भर बन्न केही न केही व्यवसाय गर्नुपर्छ भन्ने सोचिरहेका बेला आफन्तले च्याउ दिएको उनलाई सम्झना छ । त्यसपछि च्याउखेतीबाटै आत्मनिर्भर बन्न सकिन्छ कि भन्ने सोचले उहाँ यस व्यवसायमा लागिन्।

    ज्ञानको अभावमा सुरुआती असफलता

    च्याउखेती सुरु गर्दा उहाँलाई बीउ कहाँ पाइन्छ र कसरी खेती गर्ने भन्ने सामान्य जानकारीसमेत थिएन । कृषि विज्ञान अध्ययन गरिरहेका छोराले च्याउखेतीसम्बन्धी पुस्तक दिएपछि उनले त्यसैको आधारमा खेती गर्ने प्रयास गरिन।

    तर, पुस्तकमा पढेको ज्ञानले मात्रै व्यावहारिक खेती गर्न सहज भएन । सुरुमा राखिएका पाँचवटा च्याउका पोका उचित व्यवस्थापन गर्न नसक्दा सबै खेर गए ।

    “आफैँले गरेजस्तो किताब पढेर मात्र नहुँदो रहेछ,” उनले भनिन, “सुरुआतमा पाँचवटा पोका च्याउ राखेकी थिएँ, कसरी राख्ने भन्ने ज्ञान नहुँदा ती सबै खेर गए ।”

    त्यसपछिको वर्ष उहाँले कृषि ज्ञान केन्द्र र च्याउखेती गरिरहेका अन्य किसानसँग व्यावहारिक ज्ञान लिनुभयो। अन्य किसानका फार्ममा पुगेर खेती गर्ने तरिका सिक्नुभयो। पराल काट्ने, उमाल्ने र च्याउ उत्पादनका लागि आवश्यक प्रक्रिया बुझ्दै गएपछि उत्पादन पनि राम्रो हुन थाल्यो ।

    नाफाबाटै व्यवसाय विस्तार

    च्याउखेतीबाट आम्दानी हुन थालेपछि थापाले त्यसबाट प्राप्त नाफा अन्यत्र खर्च नगरी व्यवसाय विस्तारमा लगानी गर्दै आउनुभएको छ । उनका अनुसार अहिले खेतीमा भएको लगानी कटाएर करिब ५० प्रतिशतसम्म नाफा हुने गरेको छ ।

    वार्षिक करिब एक हजार पाँच सय केजी च्याउ बिक्री गर्दै आउनुभएकी उहाँले त्यसबाट दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउछिन्।

    “च्याउखेतीबाट घरखर्च र दुईवटा छोराको पढाइ खर्च चलेको छ,” उनले भनिन, “अहिलेसम्म च्याउखेतीमा आफ्नै पैसा थपेर लगानी गरेकी छैन। बिक्रीबाट आएको नाफाबाटै थप खेती गर्दै आएकी छु ।”

    कृषि विज्ञान अध्ययन गरिरहेका छोराले पनि उहाँलाई व्यवसाय सञ्चालनमा सहयोग गर्दै आएका छन्। अहिले हिउँद र वर्षात्को समयमा च्याउ उत्पादन गर्ने गरेको उनले बताइन्।

    बाँसको टहराबाट व्यवस्थित फार्मसम्म

    व्यवसाय सुरु गर्दा थापाले बाँसको टहरा बनाएर च्याउखेती गर्नुभएको थियो। तर, हरेक वर्ष हावाहुरीका कारण टहराको छाना उड्ने समस्या भएपछि उत्पादनलाई व्यवस्थित बनाउन कठिनाइ भयो ।

    कृषि ज्ञान केन्द्रबाट च्याउखेतीसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जानकारी पाएपछि उहाँले सहयोगका लागि निवेदन दिइन । केन्द्रबाट सहयोग प्राप्त भएपछि व्यवसायलाई थप व्यवस्थित रूपमा अघि बढाउन सहज भएको उनको भनाइ छ ।

    अहिले उहाँले सिजनअनुसार कन्ने र मिल्की च्याउ उत्पादन गर्दै आउनुभएको छ। यस वर्षदेखि डल्ले च्याउ उत्पादन गर्ने तयारीसमेत गरेको छ ।

    बजार र मूल्यको चुनौती

    उत्पादन बढाउने क्षमता र इच्छा भए पनि बजारमा उचित मूल्य नपाउँदा व्यवसाय विस्तारमा समस्या भइरहेको थापा बताउछिन् । बाहिरी जिल्लाबाट आउने च्याउ सस्तो मूल्यमा बिक्री हुँदा स्थानीय किसानले उत्पादन गरेको च्याउले प्रतिस्पर्धा गर्न कठिन भएको उनको अनुभव छ ।

    “धेरै उत्पादन बढाउने सोच थियो। यहाँ बाहिरी जिल्लाबाट आउने च्याउ सस्तो हुन्छ, हामीले मेहनत गरेर उत्पादन गरेको च्याउको उचित मूल्य पाइँदैन,” उनले भनिन, “स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्रवर्द्धन गरेर सहयोग गर्नुपर्छ।”

    पार्वतीको अनुभवले सामान्य ज्ञान, निरन्तर मेहनत र उपलब्ध स्रोतको सदुपयोगबाट पनि स्वरोजगारको बाटो बनाउन सकिने देखाएको छ । तर, यस्ता साना किसानको उत्पादनलाई बजारसँग जोड्ने, उचित मूल्य सुनिश्चित गर्ने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने वातावरण बनाउन सके मात्रै उनीहरूको आत्मनिर्भरताको यात्रा दिगो बन्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images