images
images
  • बैंकहरूले जथाभावी ब्याजदर बोलकबोल गरेपछि राष्ट्र बैंकले किन्यो ट्रेजरी बिल

    काठमाडौं- बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा जथाभाबी गरेको भन्दै नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गरेको छ । केन्द्रीय बैंकले सोमबार नवीकरणका लागि ९१ दिन अवधिको ५ अर्ब १० करोड र १८२ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो ।

    ९१ दिन अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिलको लागि २७ बैंक तथा वित्तीय संस्थाले १० अर्ब ३ करोडको बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थालाई १२ करोड रुपैयाँको मात्रै ट्रेजरी बिल नवीकरण गरेर ४ अर्ब ९० करोड रुपैयाँको आफैंले खरिद गरेको छ ।

    त्यस्तै १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलमा १८ बैंक तथा वित्तीय संस्थाले ६ अर्ब ३१ करोड बराबरको बोलकबोल पेश गरेका थिए । उक्त ट्रेजरी बिल पनि बैंकहरुलाई १० करोड रुपैयाँको मात्रै नवीकरण गरेर ४ अर्ब ९० करोड राष्ट्र बैंक आफैंले खरिद गरेको छ ।

    १० साउनमा ९१ दिनको ट्रेजरी बिलमा डिस्काउन्ट रेट १३.९९८८ प्रतिशत र न्युनतम ९.९००३ प्रतिशत बोलकबोल गर्दा औसत १२.००३३ प्रतिशत कायम भएको थियो । सोमबारको बोलकबोलमा ९१ दिनको ट्रेजरी बिलको लागि बैंकहरुले डिस्काउन्ट रेट अधिकतम ११.८००१ प्रतिशत र न्युनतम ११.४१६८ प्रतिशतको प्रस्ताव पेश गर्दा औसत ११.६९४६ प्रतिशत कायम भएको छ । यस्तै १८२ दिन अवधिको ट्रेजरी बिलको लागि डिस्काउन्ट रेट १०.९९८८ तय भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images