काठमाडौं– माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको संरचना प्रयोग गरि निर्माण हुने करिब एक सय मेगावाट क्षमताको तामाकोसी(५ जलविद्युत आयोजना निर्माणका लागि बोलपत्र आव्हान भएको छ। साउन ९ गते तामाकोसी जलविद्युत कम्पनीले सिभिल र हाइड्रो मेकानिकलतर्फको निर्माण कार्य गर्न अन्तराष्ट्रिय बोलपत्र आव्हान गरेको हो।
दुई प्याकेजमा यो आयोजना निर्माण गर्न लागिएको छ। सोहीअनुसार पहिलो प्याकेजको ठेक्का निकालिएको छ। दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल अर्थात् ट्रान्समिसन लाइन निर्माणको ठेक्का निकालिनेछ। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा दुई महिनासम्म आवेदन दिन मिल्ने गरि ठेक्का निकालिएको छ। यस्तो मोडलमा निर्माण गर्दा ठेक्का पाउने कम्पनीले डिजाइन, निर्माण खरिद लगायतका सबै काम गर्नुपर्ने भएकाले निर्माण कम्पनी बढी जिम्मेवार हुन्छ।
”हामीले २ महिनासम्म आवेदन दिन मिल्ने गरि ठेक्का निकालेका छौं। आवेदन दिने कम्पनीहरुले थप समय मागे पाउनुहुन्छ,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद भण्डारी भने, ”पेस भएको कागजात राम्रोसँग अध्ययन गर्नुपर्ने हुन्छ। मूल्यांकन सकेर यही वर्षबाट निर्माणमा जाने योजना हो।”
यो आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) को क्यासकेड आयोजना हो। माथिल्लो तामाकोसीको टेलरेस टनेलबाट निस्केको पानी ५.४ मिटर ब्यास भएको ८ किलोमिटर सुरुङमार्गमार्फत तामाकोसी-५ को सुरी दोभानमा प्रस्तावित अण्डरग्राउण्ड पावर हाउसमा पुर्याइनेछ। त्यसबाट ९९.८ मेगावाट विद्युत उत्पादन हुनेछ।
”यो आयोजनाका लागि हेडवर्क्स निर्माण गर्नुपर्दैन। डिसेन्डर पोखरी बनाउनुपर्दैन। डाइभर्सन बनाउने हो। टेलरेसबाट निस्कने सफा पानी प्रयोग गरेर निर्माण गर्ने हो,” भण्डारीले भने। आयोजनाको विस्तृत अध्ययन, डिजाइन र वातावरणीय प्रभाव मूल्याङकन (ईआईए०) प्रतिवेदन तयार भइसकेको छ। एसियन इन्फ्रास्ट्रक्चर बैंकको सहयोगमा ईआईए प्रतिवेदन तयार पारिएको हो।
यस आयोजनामा अण्डर ग्राउण्ड पावर हाउस लगायत अन्य संरचना निर्माण गरिने भएका कारण वातावरणीय क्षति समेत कम हुने आयोजनाका अधिकारीहरुको भनाइ छ। ती संरचनाहरु निर्माण गर्न नपरेका कारण लागत समेत घटेका कारण आकर्षक आयोजना मानिएको छ।
सीईओ भण्डारीका अनुसार, अहिले साइटमा निर्माण पूर्वतयारीका कामहरु अन्तिम चरणमा पुगेको छ। साइटमा क्याम्प निर्माणको काम चलिरहेको छ। अडिट टनेल परिक्षणको काम समेत भइसकेको छ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भइसकेको छ।
यो आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्नका लागि विद्युत गृहबाट २ किमी २२० किलोभोल्ट (केभी) प्रसारणलाइन बनाउनुपर्छ। माथिल्लो तामाकोसीका लागि बनाइएको गोंगर-खिम्ती २२० केभी प्रसारणलाइनमा नै यसको बिजुली जोडिनेछ। खिम्तीबाट एउटा लाइन काठमाडौं र अर्को लाइन ढल्केबर पुग्छ। जसको दोस्रो चरणमा ठेक्का निकाल्ने योजना छ।
२० अर्ब रुपैयाँ लाग्ने
आयोजना निर्माणका लागि करिब २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो रकम ब्याजसहित हिसाब गरिएको आकलन हो। ब्याजबाहेक भने साढे १८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
आयोजना बनाउन चाहिने लगानीको ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत इक्विटिबाट जुटाउने योजना छ। जसमा कर्मचारी संचयकोषसँग १३ अर्ब रुपैयाँ ऋण लिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। अन्तिम सम्झौता छिट्टै हुने सीईओ भण्डारीले दाबी गरे।
आयोजना विकास कम्पनीमा नेपाल विद्युत प्रधिकरणको ६८ प्रतिशत र सर्वसाधरण (स्थानीयसहित) को ३२ प्रतिशत शेयर स्वामित्व रहने कम्पनीको प्रबन्धपत्रमा उल्लेख छ। तर पछि सरकारले यो आयोजनालाई नेपालको पानी जनताको लगानी कार्यक्रममा समेत समावेश गरेपछि शेयर स्वामित्व केही हेरफेर भएको छ।
आयोजनाको शेयर स्वामित्वको मोडालिटी भने टुङ्गिएको छैन। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले समेत १० प्रतिशत लगानी गर्ने प्रस्ताव गरेको छ। सर्वसाधरणले समेत शेयर पाउनेछन्।
सुरुमा यो आयोजनालाई नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना भनिएको थियो। तर पछि माथिल्लो तामाकोसी अर्धजलाशययुक्त आयोजना भएकाले त्यस्तो आयोजनाको क्यासकेड आयोजनालाई पनि अर्धजलाशययुक्त हुने भन्ने निर्णय भयो। सोही कारण यो आयोजना पनि अर्धजलाशययुक्त आयोजनाको बास्केटमा परेको हो।
यो आयोजना निर्माण सुरु गरेको चार वर्षमा सम्पन्न गर्ने योजना छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















