काठमाडौँ- बागलुङ जिल्ला केन्द्रीय कार्यालय रहेको धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि सार्वजनिक सेयर निष्काशन हुने भएको छ। सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ। हाल उक्त कम्पनीको चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निष्काशनपश्चात् १० करोड ३१ लाख पुग्ने कम्पनीले जनाएको छ।
हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिष्कृत वित्तीय विवरणबमोजिम जगेडा तथा कोषमा ११ करोड छ। यसबाट प्रतिशेयर नेटवर्थ २ सय ५७ रुपैयाँ हुन आउँछ। कम्पनीको सञ्चित नाफा नोक्सानी समेत ४.६ करोडभन्दा माथि रहेकोले सार्वजनिक सेयर निष्काशनपश्चात् समेत सेयरधनीहरुको लागि ४० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ।
हाल राष्ट्रियस्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आइरहेको छ। यसबाट करिब ३६ हजार ग्राहक सदस्यहरुमार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ। आ.व. २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरणबमोजिम उक्त कम्पनीको पैसा प्रतिसेयर आम्दानी ३७.२५ पैसा छ।



विश्व खबर 



















