images
images
  • तरलता अभावको प्रभावः बैना गरेकालाई रिझाउन घरघर धाउँदै दलाल, अन्योलमा जग्गाधनी

    काठमाडौं- बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको प्रत्यक्ष असर घरजग्गा क्षेत्रमा पनि देखिएको छ । सरकारले घरजग्गामा हुने लगानीमा कडाइ गरेसँगै त्यसको प्रभाव यो क्षेत्रमा पनि परेको हो । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा पास गर्ने तयारीमा बसेकाहरु ऋण नपाएपछि समस्यामा परेका छन् ।

    बूढानीलकण्ठको कपन क्षेत्रमा घरजग्गा कारोबार गर्दै आएका रमेश खत्रीले बैंकले ऋण रोकेसँगै जग्गा बैना गरेकाहरु सम्पर्कविहीन हुन थालेको बताए । ४५ दिनको समय राखेर जग्गा बैना गरे पनि ४र५ महिना बितिसक्दा समेत सम्पर्कमा नआएपछि आफूहरु अन्योलमा परेको उनको भनाइ छ । सम्पर्कमा आएका बैनाकर्ता पनि अहिले बार्गेनिङमा उत्रिएको उनी बताएँछन् ।

    यस्तै ६ महिनाअघि कपनको माथिल्लो भागमा १ करोड ४० लाखमा जग्गा फाइनल गरेर २४ लाख बैना लिएका व्यक्ति नै सम्पर्कमा नआउँदा आफूलाई समस्या परेको जग्गा कारोबारी दिनेश केसी बताउँछन् ।

    जग्गा बिक्रीका लागि कारोबारीहरुले बैंक ग्यारेन्टीसम्म मिलाइदिने गरेका छन् । तर, पछिल्लो समय बैंकले ऋण रोकेपछि समस्या उत्पन्न भएको हो । बैंक तथा वित्तीय संस्थाले घरजग्गा किन्न सहजै कर्जा दिँदा पछिल्लो ५ वर्षमा काठमाडौं उपत्यकासहित मुलुकभर घरजग्गाको मूल्य ५ गुणाभन्दा बढी बढेको थियो ।

    ०७६/०७७ सम्म २२ अर्ब ४ करोड ६९ लाख रुपैयाँ जग्गा खरिद र प्लटिङमा ऋण गएको थियो । गत आव ०७७/०७८ सम्म २५ अर्ब ४६ करोड २९ लाख रुपैयाँ घरजग्गामा ऋण लगानी भएको छ ।

    गत आर्थिक वर्षको ६ महिनामा जग्गा खरिद र प्लटिङमा गएको ऋणको हिस्सा ह्वात्तै बढेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्षको ६ महिनामा ३९.२ प्रतिशतले बढेर घरजग्गामा लगानी ३५ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ पुगेको थियो ।

    तर, पछिल्लो समय सरकारले घरजग्गामा लगानी गर्न कडाइ गरेपछि प्रभावित बनेको छ । वर्गीकरणलगायत खरिद बिक्रीका लागि लिस्टिङको नीतिले समेत थप प्रभावित बनाएको छ । कृषियोग्य जमिन बिक्री गर्न नदिने र स्थानीय तहले सिफारिस गर्नुपर्ने झन्झटले पनि समस्यामा परेका व्यवसायीहरुको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images