काठमाडौं- रोजिहिरा फाउण्डेसनकी अध्यक्ष रोजिना प्रधान राईले मंगलबार आफ्नो जन्मदिन विराटनगरमा निर्माणाधीन एकीकृत सम्पन्न बस्तीमा श्रमदानका साथै विपन्न नागरिकलाई भोजन गराएर मनाएकी छिन् ।
पछिल्ला दिनहरूमा जन्मदिन फजुल खर्चमा मात्र व्यतीत भइरहेका बेला एनआरएनएकी पूर्व उपाध्यक्ष समेत रहेकी राईले एकीकृत सम्पन्न बस्तीमा काम गर्ने कामदार त्यहाँका मानिस तथा बालबालिकाहरूलाई भोजन गराई खुसीयाली साटासाट गरी मनाएकी हुन् ।
३ बिघा १६ कट्ठा ५ धुर क्षेत्रफलमा बनिरहेको सो एकीकृत बस्ती परियोजना देशकै नमुना परियोजना स्थापित हुने गरी निर्माण भइरहेको छ ।
बस्तीका नागरिकले आफैँ काम गरी, जग्गाको किस्ता तिरेर निर्माण सक्दा सम्म जग्गा देखि घर आफ्नो नाममा आउने भएकाले यो परियोजनालाई एकीकृत सम्पन्न बस्ती समेत भनिएको हो । जहाँ जो कोहीले आफ्नो श्रमदान गरी सामाजिक काममा अग्रसरता लिन सक्दछ ।
यसअघि फाउण्डेसनकी अध्यक्ष राईले आफ्नै नेतृत्वमा स्वयंसेवक खटाई श्रमदान समेत गरेकी थिइन् ।अध्यक्ष राईले आफूले यहाँ आएर आफ्नो जन्मदिन मनाउँदा खुसी लागेको बताइन् । ‘कुनै पनि विपन्न नागरिकलाई सम्पन्न बनाउने अभियान आफू जोडिई आफ्नो जन्मदिन मनाउनु तथा श्रमदान गर्न पाउनु आफैँमा गर्वको कुरा हो म खुसी छु ।’ उनले भनिन् ।
सो अवसरमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पूर्ण लोक्सम सदस्यहरू डा. ज्ञानेन्द्र कार्की र प्रकाश राई लोकसेवा आयोगकी सदस्य सजना दाहालको उपस्थिति रहेको थियो । उनीहरूले पनि सो परियोजनामा काम गर्ने कामदारलाई हौसला प्रदान गर्दै श्रमदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





















