images
images
  • लेखक संगीत स्रोताले यौन दुर्व्यवहार गरेको आरोप, के भन्छन् संगीत?

    काठमाडौं- लेखक संगीत स्रोतामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । लेखक सरिता तिवारीले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै स्रोताले आफूमाथि दुर्व्यवहार गरेको विवरण सार्वजनिक गरेकी हुन्। उनले फेसबुकमा २ घण्टा बढी लाइभ आफूमाथि भएको घट्ना सार्वजनिक गरेकी थिइन् ।

    तिवारीले २०७२ सालमा आफ्नो कविता संग्रह सम्पादनका लागि संगीतको कीर्तिपुरस्थित डेरामा गएका बखत दुर्व्यवहार गरेको दाबी गरेकी छन्।

    दुर्व्यवहार भएपछि आफू यतिन्जेल तनावमा रहेका कारण घटना सार्वजनिक गर्न नसकेको पनि उनको भनाइ छ । यो विषयमा केही समयअघि तिवारीले संगीत आबद्ध ‘प्रतिरोध आन्दोलन’ तथा ‘राजनीतिक संवाद थालनी’ मा पनि उजुरी दिएकी थिइन्।

    आरोपित संगीतले भने आफूमाथि लागेको आरोप प्रतिशोधपूर्ण भएको दाबी गरेका छन् । २०७२ मा घटना भएको भनिए पनि त्यसपछि पनि आफूहरूले सार्वजनिक साहित्यिक कार्यक्रमहरूमा सद्भावपूर्ण ढंगले सहकार्य गरेको, निरन्तर संवादमा रहेको तर मार्क्सको यौन चरित्रबारे तिवारीले लेखेको आलेखको पक्षमा आफू बोल्न नमानेपछि प्रतिशोधपूर्ण ढंगले बदनाम गर्न खोजिएको प्रष्टीकरण दिएका छन्।

    संगीतकी श्रीमती बन्दना ढकाल पनि आरोपको प्रतिवादमा उत्रिएकी छन् । घटना भएको भए त्यसको पीडित आफू पनि हुने भन्दै उनले यति ठूलो दुर्व्यवहार आफ्नै कोठामा भएको विषयमा पटक पटक भेट हुँदा पनि तिवारीले जानकारी नदिएको तर प्रतिशोध साध्न अहिले आरोप लगाएको दाबी उनले फेसबुकमार्फत गरेकी छन् ।

    संगीत के भन्छन्?
    यस मामिलामा शनिबार साँझ नै संगीतले पनि फेसबुकमा एउटा लामो धारणा सार्वजनिक गर्दै उक्त घटना नै नभएको दाबी गरेका छन्।

    उनले आफू महिलामाथि हुने हिंसाविरुद्ध लड्दै आएको पनि बताएका छन्।

    ‘महिलामाथि हुने कुनै पनि प्रकारका शोषण, हिंसा, विभेद र उत्पीडनका विरुद्धमा म सधैँ प्रतिबद्ध छु’, उनले भनेका छन्, ‘यस्ता आरोप र चरित्रहत्या–प्रयासका बाबजुद पनि उक्त मान्यताबाट म विचलित हुने छैन।’

    संगीतले ‘यौन दुर्व्यवहार’को घटना नै नभएको बताएका छन्। ‘यौन दुर्व्यवहारको घटना न भएको हो, न त्यसरी लागेको आरोपलाई मसम्बद्ध संगठनले ‘गुपचुप पार्ने प्रयास’ नै गरेको हो’, उनले अगाडि भनेका छन्, ‘एकजना महिला लेखकले केही साथीलाई फरक–फरक समयमा भेटेर मौखिक रुपमा कल्पित कथासहित सुनाएको र २०७९ असार ९ गते ‘प्रतिरोध’का नाममा घटना केही नलेखी अमूर्त रुपमा ‘यौन हिंसा’ भएको अमूर्त बेहोराको पत्र लेखेको सत्य हो।’

    संगीतले २०७२ मा ‘घटना’ भएको भनी आफूमाथि ‘यौन दुर्व्यवहार’को आरोप ती लेखकले लगाएको दाबी गरेका छन्।

    ‘जुन आरोप पूर्णतः कल्पित, बदलाभावले युक्त, पूर्वाग्रहप्रेरित, राजनीतिक प्रतिशोधयुक्त र झुट्टा हो। मैले त्यस आरोपलाई तुरुन्तै खारेज गर्दै संगठनमा आफ्ना तर्फबाट सत्यतथ्य विवरण पेश गरेको थिएँ’, उनले भनेका छन्, ‘त्यस आरोपबारे तुरुन्तै अध्ययन होस् भनी आफूउपर लगाइएको आरोपलाई नैतिक प्रश्नका रुपमा लिएर तत्काल आफू कार्यकारी रहेको जिम्मेवारीमा नरहने जानकारी गराएको थिएँ।’

    संगठनले तत्कालै यसबारे पहल लिई अध्ययन समिति बनाई उनी पीडित हुन् भने ‘सबै न्यायिक प्रक्रियामा साथ दिने’ दृढतासहित उनलाई जवाफ लेखेको पनि संगीतले बताएका छन्।

    ‘उनले पत्र लेखेको एक साताभित्रै उनकै आग्रहमा, उनले नै अनुरोध गरी बोलाएका केही अग्रजहरूको रोहवरमा बसी दुवै पक्षले यो विषय अब कहिल्यै र कतै पनि नउठाउने सर्तमा टुंगिएको पनि हो’, संगीतले भनेका छन्,’लगत्तै उनले संगठनलाई धन्यवाद दिँदै ‘आफनो जाहेरी पत्र अब निष्क्रिय रहेको’ चिठी लेखेकी छन्।’

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images