कोलम्बो- प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि श्रीलंकाका राष्ट्रपति गोतावाया राजापक्ष अज्ञातस्थलतर्फ लागेका छन्।
न्यूज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् । निवास कब्जापछि उनी अज्ञातस्थलतर्फ लागेको अनलाइन भिडियो फुटेजहरुमा देखिएको छ ।प्रदर्शनकारीहरुले शनिवार अपरान्ह राष्ट्रपति निवाससमेत कब्जा गरेका छन् ।
श्रीलंकामा आर्थिक संकट शुरु भएपछि शनिवार राजधानी कोलम्बोमा सबैभन्दा ठूलो प्रदर्शन गरिएको छ। प्रहरीले भीडलाई तितरबितर गर्न अश्रुग्यास प्रहार गरेको सञ्चारमाध्यमहरुले बताएका छन्। त्यसलगत्तै सरकारी निवास छाडेर राष्ट्रपति राजापक्ष निवास छाडेर भागेको समाचार आएको हो ।
आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर रुपमा सरकार विरोधी प्रदर्शन हुँदै आएका छन् । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् ।
स्थानीय समय अनुसार शुक्रवार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कफ्र्यु आदेश कायमै रहने प्रशासनले बताएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कफ्र्यु आदेश जारी गरिएको छ ।
प्रदर्शनकारीहरुले राष्ट्रपतिले मुलुकको संकट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै आएका छन् । श्रीलङ्काको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष सर प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ ।
उनीहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य बृद्धि न्युनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाइ छ । श्रीलङ्कामा आर्थिक संकटसँगै राजनीतिक संकट पनि उत्पन्न भएको छ । आर्थिक संकटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्ष राजीनामा दिन बाध्य भएका थिए । एजेन्सी


विश्व खबर 



















