काठमाडौं– निरन्तरको वर्षासँगै आएको पहिरोमा परी पाल्पामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएपछि मृतकको सङ्ख्या पाँच पुगेको हो ।
पहिरोमा परी बेपत्ता भएका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उहाँकी १७ वर्षीया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्तीको शव उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यसअघि आज बिहान पहिरोमा परी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो ।
पहिरोमा परी घाइते भएका चिदीलाई उद्धार गरी जिल्ला अस्पताल पाल्पा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । सारुको शव भने पहिरोले पुरिएको अवस्थामा निकालिएको थियो ।
निरन्तरको वर्षापछि आज बिहान आएको पहिरोले माथागढी–३ कसेनी भैसीकट्टाका लिलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरिएको थियो । घरमा सुतिरहेका बेला पहिरोले पुरिएपछि तीन जना बेपत्ता भएका थिए ।
सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा उद्धार टोलीले पहिरोबाट तीनै जनाको शव निकालेको हो । मृतक पाँचै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।


विश्व खबर 


















