images
images
  • ईसेवाको नयाँ सीईओमा निरज शर्मा नियुक्त, असोज १२ देखि कार्यभार सम्हाल्ने

    काठमाडौं – डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् ।

    ईसेवा सञ्चालक समितिको बैठकले शर्मालाई नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सीईओ रहेका जगदीश खड्काको चारवर्षे कार्यकाल सकिएपछि कम्पनीले शर्मालाई नयाँ नेतृत्वको जिम्मेवारी दिएको हो । शर्माले आगामी असोज १२ गतेदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन् ।

    बैंकिङ तथा डिजिटल भुक्तानी क्षेत्रमा लामो अनुभव हासिल गरेका शर्मा नबिल बैंकका पूर्व चिफ बिजनेस अफिसर हुन् । उनले नबिल बैंकमा करिब १८ वर्ष विभिन्न नेतृत्वदायी भूमिकामा रहेर काम गरेका थिए । डिजिटल बैंकिङ, सञ्चालन, वैकल्पिक बैंकिङ च्यानल, मार्केटिङ तथा रणनीतिक योजनासहितका क्षेत्रमा उनले जिम्मेवारी सम्हालेका थिए ।

    शर्माको व्यावसायिक करियर २०५६ सालमा ओरियन्टल सहकारीबाट सुरु भएको र त्यसपछि तत्कालीन नेपाल बंगलादेश बैंक हुँदै हिमालयन बैंकमा काम गरेको विवरण सार्वजनिक भएका छन् । हिमालयन बैंकमा करिब साढे सात वर्ष काम गरेपछि उनी २०६४ सालमा नबिल बैंक प्रवेश गरेका थिए ।

    नबिल बैंकमा रहँदा उनले कार्ड डिभिजन, रेमिट्यान्स, बैंकास्योरेन्स, खुद्रा बैंकिङ, डिजिटल बैंकिङ तथा सञ्चालनलगायतका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । पछिल्लो समय उनी नबिल बैंकमा ट्रान्जेक्सनल बैंकिङ र डिजिटल बैंकिङ प्लेटफर्मसम्बन्धी जिम्मेवारीमा थिए ।

    शर्माले सेन्ट जेभियर्सबाट प्रवेशिका, त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तह, दिल्ली विश्वविद्यालयबाट स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका छन् । उनले हार्वर्ड बिजनेस स्कुलबाट ‘डिसरप्टिभ स्ट्राटेजी’ सम्बन्धी तालिमसमेत लिएका छन् ।

    ईसेवाको नेतृत्व सम्हाल्न लागेका शर्माले सार्वजनिक रूपमा ग्राहकको विश्वास कायम राख्ने, सेवा गुणस्तर सुधार गर्ने, डिजिटल ठगी नियन्त्रण तथा साइबर सुरक्षामा निरन्तर लगानी गर्ने र सेवाको पहुँच विस्तार गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

    ईसेवा हाल नेपालको डिजिटल भुक्तानी बजारमा स्थापित प्रमुख वालेटमध्ये एक हो । मोबाइल बैंकिङ, क्यूआर भुक्तानी र अन्य डिजिटल भुक्तानी माध्यमबीच प्रतिस्पर्धा बढिरहेको अवस्थामा शर्माको नेतृत्वमा ईसेवाले सेवा विस्तार, प्रविधि तथा सुरक्षा सुदृढीकरण र ग्राहक अनुभव सुधारमा कसरी काम अघि बढाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

    ईसेवाको माउ कम्पनी एफवानसफ्टमा विश्वास ढकाल, सम्भव सिरोहिया, सुवास शर्मा, सुवास सापकोटा र उद्योगपति राजेन्द्र खेतानलगायतको लगानी रहेको कान्तिपुरले उल्लेख गरेको छ । सम्भव सिरोहिया कान्तिपुर मिडिया ग्रुपका पूर्वप्रबन्ध निर्देशक हुन् र उनी फोनपेको सञ्चालक समितिमा पनि छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images