काठमाडौं – अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीले स्याङ्जा, पर्वत र गुल्मीको सीमास्थित सेतीवेणी बजार डुबानमा परेको छ ।
चार दिनदेखि लगातार परेको वर्षापछि नदी र खोलामा आएको बाढीले स्याङ्जातर्फका १७ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो। बाढीले केही घरमा पानी पसेको तथा केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बजारको पर्वततर्फका नौ घरमा समेत बाढीले क्षति पुर्याएको गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताउनुभयो ।
गएराति करिब २ बजेदेखि कालीगण्डकी नदी र सेतीखोलाको बहाव बढेपछि बाढी प्रभावितलाई पर्वततर्फको शालिग्राम माध्यमिक विद्यालयको परिसरमा राखिएको छ ।
विद्यालयमा आश्रय लिएर बसेका प्रभावितका लागि तत्काल खानेकुरा तथा बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष भट्टराईले बताउनुभयो ।
बाढीबाट मानवीय क्षति नभए पनि केही पशुचौपाया नदीले बगाएको उहाँले जानकारी दिनुभयो । बजार डुबानमा परेपछि सेतीवेणीको जनजीवन प्रभावित भएको छ ।
बाढीका कारण विश्वकै ठूलो शालिग्राम शिला क्षेत्रसमेत डुबानमा परेको छ। यस्तै, कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलिएको छ भने विद्युत् उत्पादन बन्द गरिएको छ ।
यसैबीच, बाढीले आज बिहान मिर्मीमा स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत बगाएको छ । बाढीका कारण बजार तथा आसपासका क्षेत्रमा थप क्षति हुन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।


विश्व खबर 


















