काठमाडौं – निरन्तरको वर्षासँगै त्रिशूली नदीमा पानीको बहाव बढेपछि नुवाकोटमा सञ्चालनमा ल्याइएका चारवटा तुइन बन्द गरिएका छन् । तुइन बन्द भएपछि त्रिशूली नदीपारिका बस्तीको आवतजावत प्रभावित भएको छ ।
वर्षाका कारण नदीको बहाव बढ्नुका साथै तुइनका घिर्नी सञ्चालनमा प्राविधिक कठिनाइ देखिएपछि विदुर नगरपालिकाका विभिन्न चार स्थानमा सञ्चालन गरिएका तुइन बन्द गरिएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिनुभयो ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी वारपार गर्ने पुल तथा सडकको पहुँच मार्ग बगाएपछि विदुर नगरपालिका र बागमती प्रदेश सरकारको सहकार्यमा चार स्थानमा तुइन जडान गरी सञ्चालनमा ल्याइएको थियो ।
विदुर नगरपालिका–१ इन्द्रायणीचौरमा दुई स्थान तथा वडा नं. ४ र १२ जोड्ने सिमचौर र वडा नं. ५ तथा ३ जोड्ने देवीघाटमा एक–एकवटा तुइन सञ्चालनमा थिए ।
निरन्तर वर्षा भइरहेकाले तुइनका घिर्नी सञ्चालनमा कठिनाइ हुनुका साथै नदी वारपार गर्ने क्रममा बीचमै अड्किन सक्ने जोखिम रहेकाले सञ्चालन रोकिएको प्रमुख थापाले बताउनुभयो । मौसम सफा भई नदीको बहाव घटेपछि पुनः सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।
देवीघाटमा जडान गरिएको तुइनको लठ्ठा बाँधिएको रुखसमेत त्रिशूली नदीको कटानका कारण जोखिममा परेको छ। नदीको कटानले रुखमा क्षति पुगेकाले मौसम सफा भएपछि प्राविधिक अध्ययन गरेर मात्रै उक्त तुइन सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
भोटेकोशी बाढीपछि देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको सहयोगमा एक्रोब्रिज सञ्चालनमा आएपछि धादिङतर्फको आवतजावत केही सहज भए पनि त्रिशूली नदीको बहाव उच्च रहेकाले तत्काल पक्की वा अन्य वैकल्पिक पुल निर्माण गर्न सक्ने अवस्था छैन ।
तुइनसमेत बन्द भएपछि नदीपारिका बस्तीमा बाढीबाट क्षतिग्रस्त घरको भग्नावशेष हटाउने, खोज तथा उद्धार गर्ने र राहत सामग्री पुर्याउने काम प्रभावित भएको छ । विदुर नगरपालिका–७ का वडाध्यक्ष रबिन्द्र नेपालका अनुसार नदीपारिका बस्तीमा दैनिक उपभोग्य सामग्रीको समेत अभाव हुन थालेको छ ।
नदी वारपार गर्ने सहज माध्यम नहुँदा सदरमुकाम विदुरबाट त्रिशूली नदीपारि रहेको त्रिशूली अस्पताल पुग्नसमेत समस्या भएको छ। बिरामीलाई उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने अवस्था आएको स्थानीयले बताएका छन् ।
तुइन बन्द भएपछि विदुर नगरपालिकाका नदीपारिका आठवटा वडासहित किस्पाङ र म्यागङ गाउँपालिकासँगको आवतजावतसमेत प्रभावित भएको छ ।


विश्व खबर 


















